-केदार कटुवाल/ईमेज
उदयपुर । वि.स. २००७ सालमा राणाहरु विरुद्ध प्रजातन्त्र प्राप्तीको लडाइमा बिना पारिश्रमिक लडेका मुक्ती योद्धाहरुलाई कदर र सम्मान स्वरुप प्राप्त भएको जग्गा ६७ बर्ष वितिसक्दा पनि राजनीतिक पीडितहरु जग्गाको मालिक बन्न पाएका छैनन् ।
तत्कालिन राजा त्रिभुवनबाट लालमोहर लगाइ बकस भएको करिब ७ सय ५० बिगा जमिन ६७ बर्ष बित्न लाग्दा पनि राजनीतिक पीडित परिवारको नाममा हुन नसकेको हो ।
चौदण्डीगढी नगरपालिका ३ र ४ वडामा पर्ने बसाहामा राणा शासनको विरुद्ध प्रजातान्त्रिक आन्दोलनका पक्षमा लडेका माँझकिरातका होनाहार योध्दा नारदमुनि थुलुङ ,रामप्रसाद राई ,गुमानसिंह रार्इ, कुमारसिंह राइ ,आदिभक्त ओझा लगायत ५८ जना मुक्तिसेनाका योद्धालाई ४/४ बिगाहको दरले राजा त्रिभुवनको हुकुम प्रमाङ्गीबाट बकस भएको थियो ।
अहिले ७ हजार भन्दा बढी घर परिवार बसोबास रहेको बसाहामा २०२५ सालमा हनुमान नगर बन डिभिजन र जनकपुर सर्कलले जोताहा पूर्जी बितरण गरेको थियो ।
२०३३ सालमा राष्ट्रिय पुनर्बास कम्पनी कार्यालयले केही मोहीलाई दुई बिगाको दरले १० बर्षसम्म बेचबिखन, दान दातब्य, हक हस्तान्तरण गर्न नपाउने गरि जग्गा धनी दर्ता प्रमाणपुर्जा बितरण गरेको थियो ।
अब्यबस्थित बसोबास भनी २०५१ मा गठित सुकुम्बासी समस्या समाधान आयोगले दुई हजार घरपरिवारलार्इ जग्गको निस्सा बितरण गरेपछि अहिलेसम्म मोहीलाई जमिनको मालिक बनाउन कुनै कारवाही नभएको स्थानीयहरु बताउँछन् ।
प्रजातान्त्रिक योद्धाहरुको कदर र सम्मान गर्दै राज्यबाट प्राप्त भएको जमिनको लालपूर्जा नपाउँदा एकातिर स्थानीय तहले पाउने कर प्राप्त गर्न सकेको छैन भने मोहीले जमिन अन्य प्रयोजनमा उपयोग गर्नबाट बन्चित छन ।
संबिधानको धारा ५७ को उपधारा ४ ,धारा २१४ को उपधारा २, धारा २२ को उपधारा २, धारा २२६ को उपधारा १ संग अनुसुचि ८ सम्बन्धित क्रम संख्या १४ मा स्थानिय तहले जग्गाधनी पुर्जा बितरण गर्न सक्ने ब्यबस्था गरेको छ ।









प्रतिक्रिया दिनुहोस्