२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लोडसेडिङ हटेपछि विद्युत् चुहावटमा पनि कमी : कुलमान


0
Shares

काठमाडौं, कात्तिक ९ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ हटेपछि विद्युत् खपत बढेको बताएका छन् ।

विद्युत् खपत बढेपनि विद्युत् आपूर्तिमा कुनै समस्या नआउने उनको भनाइ छ ।

नेपाल इन्जिनियर्स संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले दुई वर्षको अवधिमा विद्युत् खपत २० प्रतिशतसम्म बढेको बताए ।

विद्युत् लोडको भार पनि ७० प्रतिशतमाथि नगएको उनको भनाइ छ ।

उपभोक्ताको सहयोगका कारण लोडसेडिङ हटाउन ठूलो मद्दत पुगेको भन्दै उनले विद्युत् चुहावटमा पनि कमी आएको बताए ।

लोडसेडिङ अन्त्य हुनुअघि भक्तपुर जिल्लामामात्रै ४० प्रतिशत विद्युत् चुहावट हुने गरेकामा हाल १० प्रतिशतमा झरेको उनले जानकारी गराए ।

यस्तै, २०७२ मा भक्तपुरमा २७ मेगावाट विद्युत् माग हुने गरेकामा हाल १४ मेगावाटमात्रै विद्युत् माग भएको उनले बताए ।

लोडसेडिङ हटेपछि २०० मेगावाट इन्भर्टरको लोड पनि हटेको उनको भनाइ छ ।

उपभोक्ताको सहयोगकै कारण ५३ मेगावाटको थर्मल प्लान्ट पनि चलाउन नपरेको उनले बताए ।

सन् १९९२ मा यस क्षेत्रमा निजी क्षेत्रलाई पनि खुला गरेपछिको सकारात्मक प्रभाव देखिन थालेको उनले उल्लेख गरे ।

आगामी वर्ष प्राधिकरण एवं निजी क्षेत्रकोसमेत गरी करिब ८०० मेगावाट विद्युत् थपिने उनले बताए । २५ सय मेगावाट निर्माणाधीन अवस्थामा रहेको पनि उनले जानकारी गराए ।