Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


समाजवादी सिद्धान्तमा गल्ती नभइ लागू गर्न नसक्नु कमजोरी भयो : येचुरी


0
Shares

काठमाडौं, कात्तिक ९ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरीले लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नेपालमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार गठन भएबाट विश्वका कम्युनिस्टलाई प्रोत्साहन मिलेको बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा शुक्रबार राजधानीमा आयोजित भारतीय कम्युनिस्ट आन्दोलनको अनुभवसम्बन्धी अन्तरक्रियामा उनले अन्तरविरोधलाई सही ढंगले बुझेर अघि बढेमामात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ भन्ने अनुभव मिलेको धारणा व्यक्त गरे ।

सिद्धान्तमा गल्ती नभइ समाजवाद लागू गर्न नसकेकामा सोभियत संघको अवसान भएको बताउँदै महासचिव येचुरीले गल्तीलाई नस्वीकार्नु र सुधार गर्न नचाहनुचाहिँ गल्ती हुने स्पस्ट गरे ।

राजनीतिक, सांगठनिक र अन्य कारणले भारतीय कम्युनिस्ट पार्टीको आन्दोलन र कार्यसूचीलाई प्रभावकारी तुल्याउन नसकिएको उल्लेख गरे ।

बंगालमा आफ्ना २०० कार्यकर्ताको हत्या भएकाले संगठन कमजोर भएको जानकारी उनले दिए ।

देशको परिस्थितिलाई बुझेर ठीक समयमा ठोस निर्णय गरेर अघि बढ्नुपर्छ भन्ने पाटोलाई सबैले मनन् गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै उनले नेपालमा देखिएको कम्युनिस्ट पार्टीको आन्दोलन निकै प्रभावकारी बनेको विचार प्रकट गरे ।

अभ्यास र सिद्धान्तबीच एकार्कालाई तालमेल मिलाएर लैजान आवश्यक रहेको सुझाव दिँदै महासचिव येचुरीले ‘संगठनलाई अघि बढाउने सिलसिलामा आउने चुनौतीको समयमै सम्बोधन गर्न सक्नुपर्छ’–भने ।

एक प्रश्नको उत्तरमा उनले कम्युनिस्ट पार्टीमा को दलित को ब्राह्मण भन्ने विषय नै नउठ्ने जनाउँदै जातीय विषयलाई समाजवादलेमात्र हल गर्नसक्ने विचार व्यक्त गरे ।

भारतीय र नेपाल कम्युनिस्ट पार्टीबीचको सम्बन्ध निकै घनिष्ठ र सुमधुर रहेको बताउँदै महासचिव येचुरीले भने–‘जो शासनमा पुग्छ, त्यसैको नाममा वाद जोड्ने अभ्यासमा भने सुधार ल्याउन आवश्यक छ ।’

नेपाल र भारतबीच ठूलो र सानो नभइ जुम्ल्याहा भाइकोजस्तो सुमधुर र घनिष्ठ सम्बन्ध रहेको पनि महासचिव येचुरीले उल्लेख गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पुष्पलाल प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले भारतीय कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच धेरै पुरानो र घनिष्ठ सम्बन्ध रहेको बताए ।

नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा महासचिव येचुरीलगायत भारतीय वामपन्थी नेताको निकै ठूलो योगदान र भूमिका रहेको उनले उल्लेख गरे ।

सरकार, संसद, स्थानीय तह र संसद सन्चालनको लामो अनुभव हासिल गरेका येचुरी भाकपा (मार्क्सवादी)का पाँचौं महासचिव हुन् । रासस