३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


राष्ट्रियसभाका अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण


0
Shares

काठमाडौं, असार १० । राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गरेको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकृष्ट गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विशेष समयमा उठाइएका विषयमा सरकारका मन्त्रीबाट जवाफ आउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विशेष समयमा सांसदहरुले आफूले उठान गरेका विषय के–कति सम्बोधन भए ? के–कति कुन कारणले हुन सकेन ? भन्ने प्रश्न गरेका थिए ।

विशेष समयमा सांसदले मुलुकले भोग्नुपरेका समस्या र समसामयिक विषयलाई उठान गरेका थिए ।

त्यसक्रममा सांसद खिमलाल भट्टराईले सुकुम्बासी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गर्दै ‘लुम्बिनी विश्वविद्यालयलाई बहुविषयको विश्वविद्यालय बनाउनुपर्छ’–भने ।

सांसद अनिता देवकोटाले संविधानप्रदत्त अधिकारलाई कार्यान्वयन गर्न छिटो विधेयक ल्याउन र दाइजो प्रथा अन्त्य गर्न माग गरिन् ।

सांसद रमेशप्रसाद यादवले तराई–मधेसका उखु मिलले कृषकलाई उखुको भुक्तानी नदिएको हुँदा उखुखेती गर्ने कृषक आर्थिक समस्यामा परेको बताए ।

सांसद रामनारायण बिँडारीले स्थानीय र प्रदेश सरकारलाई कानुनको अभावमा आ–आफ्ना कार्यसम्पादन गर्न कठिन परेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद तारादेवी भट्टले ‘स्वास्थ्य मन्त्रालयले अचानक हुने महामारी नियन्त्रण गर्न के–के, कस्तो तयारी गरेको छ ? त्यसको जानकारी आओस्’–भनिन् ।

सांसद कविता बोगटीले हुम्ला जिल्लामा खाद्यान्न अभाव भएकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

विशेष समयमा सांसद खिमकुमार विक, प्रकाश पन्त, नरपति लोहार, शेरबहादुर कुँवर, विमला राई पौडेल, रामप्रित पासवान, हरिचरण शिवाकोटीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रियसभाको अर्काे बैठक यही असार १४ गते बिहीबार दिउँसो १ बजे बस्नेछ । रासस