ललितपुर, कार्तिक ९ । साझा यातायातले २० वटा नयाँ बस भित्र्याउने भएको छ ।
काठमाडौं उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो ।
काठमाडौं महानगरपालिकाको रु पाँच करोड र ललितपुर महानगरपालिकाको रु एक करोड लगानीमा बस भित्र्याउन लागिएको हो । व्यवस्थापक पाण्डेयले भने, ‘नयाँ बस पनि यसअघि साझाले भित्र्याएको जस्तै आधुनिक र सुविधा सम्पन्न हुनेछन् ।’ यसअघि जस्तै भारतीय कम्पनी अशोक लेल्याण्डको बस दुई महिनाभित्र काठमाडौं भित्र्याउने लक्ष्य छ । बस आएपछि दर्ता भएर सडक निर्धारण हुने बताइएको छ ।
देशभर सञ्चालित विभिन्न यातायात सेवा प्रदायकमध्ये साझा यातायातमा सरकारी लगानी सबैभन्दा बढी छ । साझामा ९० प्रतिशतभन्दा बढी शेयर सरकारी र स्थानीय निकायको छ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले स्थानीयवासीलाई सेवा दिन साझाको शेयर खरिद गरिरहेको व्यवस्थापक पाण्डेयले बताए ।
उनले भने, ‘स्थानीय निकायले साझामा केही लगानी गर्ने र आफ्नो क्षेत्रमा साझाका बस गुडोस् भन्ने चाहिरहेका छन् ।’ काठमाडौं र ललितपुर महानगरपालिका तथा गोदावरी र महालक्ष्मी नगरपालिकालगायतले साझाको शेयर खरिद गरेका छन् । उपत्यकामा अहिले १० वटा सडकमा साझाका ४७ बस चलेका छन् । लामो दूरीमा काठमाडौंबाट बाग्लुङ र कुस्मासम्म बस सञ्चालनमा छ । केही महिना पहिलेदेखि अपाङ्गमैत्री बससमेत सञ्चालन गर्दै आएको साझाले ई टिकट शुरु गरिसकेको छ ।
विसं २०१८ मा शुरु भएको साझाको सेवा लामो समयसम्म ठप्प भएपछि विसं २०७० बाट फेरि सुविधा सम्पन्न बससहित सेवा सञ्चालनमा ल्याएको थियो । धेरै यातायात कम्पनीले साझाले जस्तै यात्रुलाई सुविधा दिने गरी सेवा चलाएका छन् ।
साझा यातायातको व्यवस्थापनमा मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय बससमेत शुरु गरेका थिए । (रासस)









प्रतिक्रिया दिनुहोस्