इलाम, कार्तिक ९ । इलामको प्रमुख पर्यटकीय र धार्मिक स्थल माइपोखरीमा पर्यटकको आवागमन बढेको छ ।
दसैंको अवसर पारेर माइपोखरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो । इलाम सदरमुकामबाट बरबोटे हुँदै १३ किलोमिटर कच्ची सडक पार गरेर पुगिने माइपोखरीमा झापा र मोरङबाट आन्तरिक पर्यटक बढी पुग्ने गरेका छन् ।
त्यसैगरी छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट पनि माइपोखरी घुम्न दैनिक ५ सयभन्दा बढी पर्यटक आउने गरेको स्थानीयले बताएका छन् ।
सन्दकपुर गाउँपालिका–१ मा रहेको माइपोखरी धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी क्षेत्रका रूपमा परिचित छ । माइपोखरी २८ अक्टोबर २००८ मा विश्व रामसार सूचीअन्तर्गत नेपालको नवौँ र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषणा भएको थियो ।
करिब १८८ हेक्टरमा फैलिएको र नौवटा कुना भएको प्राकृतिक एवं धार्मिक सुन्दरताले भरिपूर्ण पोखरीको एक कुनाबाट अर्को कुना देख्न गाह्रो पर्दछ ।
रामसार क्षेत्रमा सूचीकृत माईपोखरीमा विश्वमै लोपोन्मुख गलैँंचे झ्याउ, अनौठा प्रकृतिका चरा पाइने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्