Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


‘बिजुली बस’को रुट टुंगो लाग्न बाँकी, लुम्बिनी लगिने


65
Shares

ललितपुर, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उद्घाटन गरेको विद्युतीय बस कुन रुटमा चलाउने भन्ने टुंगो लागेको छैन ।

बस व्यवस्थापनको जिम्मेवारी पाएको साझा यातायातले बस दर्ता भएपछि नै रुटको तय हुने बताएको छ ।

केही दिनभित्रै बस दर्ता भइसक्ने साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए ।

उनले भने–‘दर्ता भएपछि नै कुन ठाउँमा आवश्यक छ हेरेर त्यो रुटमा चल्नेछ ।’

काठमाडौं उपत्यकाको नगर क्षेत्रमा बस चल्ने उनले बताए ।

एसियाली विकास बैंकले पाँचओटा बस लुम्बिनी क्षेत्र विकास कोषलाई अनुदान सहयोगमा दिएको हो ।

चिनियाँ निर्माण कम्पनी ‘वीवाइडी’ले बस निर्माण गरेको हो । यी बस केही समयका लागिमात्रै काठमाडौं उपत्यकामा चल्नेछन् ।

बस व्यवस्थापनको जिम्मेवारी साझा यातायातले लिएको छ । लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य सम्पन्न भएपछि बस लुम्बिनी लगिने उनले बताए ।

उनले भने–‘काठमाडौं उपत्यकामा हामीले नै यी बस सन्चालन गर्नेछौं ।’

कुल २९ जना यात्री क्षमता रहेको बस अपांगतामैत्रीसमेत रहेको पाण्डेयले बताए । यो बसमा ‘लिफ्ट सिस्टम’ हुँदा ‘ह्विलचेयर’ सजिलै चढाउन र ओर्लन सकिनेछ ।

उनले भने–‘बस सबै यात्रीका लागि सजिलोखालको छ ।’

विद्युतीय बसको प्रयोगले वातावरण सफा बनाउने हुँदा जनस्वास्थ्यमासमेत सकारात्मक असर गर्ने उनले बताए ।

विद्युतीय बससँगै अरु विद्युतीय सवारीलाई प्रोत्साहन गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसमेत लागेको छ । २० ठाउँमा ‘चार्जिङ स्टेसन’ स्थापना गर्न प्रक्रिया थालेको छ । रासस