Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) मा धमाधम उद्योग स्थापना हुँदै


0
Shares

दीपक घिमिरे

भैरहवा, कार्तिक ५ । नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना हुने क्रम शुरु भएको छ ।

उद्योग स्थापनाका लागि उद्योगीहरुले भू–बहाल शुल्क बुझाएसँगै उद्योग स्थापनाका लागि भौतिक पुर्वाधारमा जुटेका हुन् । विशेष आर्थिक क्षेत्र प्राधिकरणले उद्योग सञ्चालनका लागि अनुमति लिएका २४ वटा उद्योगमध्ये १८ वटा उद्योगले उद्योग सञ्चालनका लागि सम्झौता गर्दै भू–बहाल शुल्क बुझाएसँगै उद्योग स्थापनाको काम शुरु गरेका हुन् ।

भू–बहाल शुल्क बुझाएका १८ वटा उद्योगमध्ये केहीले उद्योगका लागि पुर्वाधार बनाउन थालेको तथा अन्यले तत्कालै काम शुरु गर्ने प्राधिकरणका प्रवक्ता सुन्दर थापाले  जानकारी दिए । उनले उद्योग स्थापनाका लागि पुर्वाधार निर्माण गर्दै गरेको शक्ति मिनरल्स उद्योग ३ महिनाभित्र सञ्चालनमा आउने पनि बताए ।

आगामी दुई वर्षभित्र सेजभित्रका सम्पुर्ण उद्योग सञ्चालनमा आउने उनको दाबी छ । सम्झौता गरेका उद्योगहरुले पुर्वाधार निर्माणको डिजाईन गर्न सुरु गरेको जनाइएको छ ।

सेजमा उद्योगको पुर्वाधार निर्माणका लागि आवश्यक विद्युतको समेत प्रवन्ध मिलाईएकाले पुर्वाधार निर्माणमा ढिलाई नहुने उनको भनाइ छ । सेजमा पूर्वाधार निर्माणको लागि एक मेगावट विद्युत आवश्यक रहे पनि हाल ६ मेगावाट विद्युत उपलब्ध रहेको थापाले जानकारी दिए ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले सेजमा रहने उद्योगका लागि आवश्यक पर्ने विद्युत तथा सरकारी तवरबाट बनाउनु पर्ने संरचना निर्माण तत्काल शुरु गर्नुपर्ने बताए । सरकारी पक्षले सेजमा निर्माण गर्नुपर्ने कर प्रशासन, विद्यालय, बालउद्यान लगायतका संरचना निर्माण थाले उद्योगी व्यवसायीले पनि उद्योगका लागि आवश्यक पुर्वाधार निर्माण गर्ने न्यौपानेले बताए ।

रुपन्देहीको रोहिणी गाउँपालिकाको बगाहामा ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा १४ सय देखि ३७ सय वर्गमिटर सम्मका ६९ वटा प्लट छन् ।

विशेष आर्थिक क्षेत्र नेपाल सरकारले देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढि भएका समानहरु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्नको लागि ल्याएको नीति अन्तर्गत गरिएको व्यवस्था हो । यस क्षेत्रमा स्थापना हुने उद्योगहरुको लागि प्रारम्भिक आधारभुत विकास निर्माण काम नेपाल सरकारले नै निर्माण गर्छ ।

यो क्षेत्रमा स्थापना भएका जुनसुकै उद्योगले आफ्नो उत्पादनका ७५ प्रतिशत सामान विदेश निर्यात गर्नुपर्छ ।

सेजमा विशेष गरी खाद्य तथा कृषि जन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका बस्तु, तयारी पोशाक, गलैचा तथा ऊनी सामान, पश्मिना तथा रेशम, हातेकागजका बस्तु गरि १७ किसिमका उद्योगहरु रहने छन् ।

 

Skip This