२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सांसद रामवीर मानन्धरको राजीनामाबारे ‘कुनै निर्णय गर्नु नपर्ने’ निर्णय


0
Shares

काठमाडौं । कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समिति बैठकले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिएको पत्रमा ‘कुनै निर्णय गर्नु नपर्ने’ निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सचिवालय बैठकले मानन्धरको सांसद पदबाट राजीनामा पत्रबारे निर्णय गर्दै उक्त क्षेत्रमा उप–निर्वाचन गराउन नहुने निष्कर्षमा पुगेको हो ।

नेकपाको अघिल्लो सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मानन्धरको राजीनामा पत्र पढेर सुनाएका थिए ।

हिजोको सचिवालय बैठकमा मानन्धरको राजीनामा निर्णयबारे अधिकांश सचिवालय सदस्यले विरोध गरेका थिए ।

हिजोको बैठक लामो समयसम्म मानन्धरको राजीनामा विषयमा केन्द्रित भएको थियो ।

यस्तै, सचिवालय बैठकले विभिन्न राजनीतिक एजेन्डामा छलफल गर्ने निर्णय गरेको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेशको कमिटी गठनको असन्तुष्टि, पार्टी सञ्चालन विषयमा दर्ता गराएको पत्रबारे छलफल गर्ने एजेन्डा तय भएको छ ।

नेपालले लिखित दर्ता गराएको उक्त पत्रबारे आज बस्ने सचिवालयको बैठकमा छलफल हुने जनाइएको छ ।

यस्तै, पार्टी र सरकार सञ्चालनको समीक्ष, प्रदेश र जिल्ला कमिटीको गठन र पूर्णता, जनवर्गीय संगठनको गठनबारे छलफल गर्ने एजेन्डा तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।