२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बडादशैंका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

सांस्कृतिक वैभवको रुपमा रहेको बडादशैँले सामाजिक एकता, आपसी सद्भाव र आत्मीय भ्रातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुग्ने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन् । 

दशैंघरमा कृषि औजार र विभिन्न बनस्पतिको पूजा गरिने चलनले मानव जीवनसँग घनिष्ट सम्बन्ध रहेको बोटबिरुवा र कृषि प्रणालीको संरक्षण गर्नुपर्ने चेतना फैलाएको तथा सांस्कृतिक मूल्य मान्यता र मानव जीवनलाई सुखी र समृद्ध तुल्याउने सन्देश समेत प्रवाह गर्दै आएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

राष्ट्रपति भण्डारीले बहुमूल्य सांस्कृतिक सम्पदाको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यसै अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय प्रतिनिधिसभाका सभामुख, विभिन्न राजनीतिक दलका नेतालगायत नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वले पनि बेग्लाबेग्लै सन्देश जारी गरी शुभकामना प्रकट गरेका छन् ।

शरद ऋतुको महान् चाड दशैंले सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, सहयोग र स्नेह बढाउने बताउँदै उपराष्ट्रपति पुनले हाम्रा चाडपर्वले धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई सम्मान गर्दै सामाजिक, सद्भाव, एकता र साझा पहिचानसहित सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, वैभव र पारिवारिक सम्मिलनको कामना गरेका छन् ।

त्यसैगरी विभिन्न राजनीतिक दलका नेताहरुले पनि नेपालीको उत्तरोत्तर प्रगति तथा समृद्ध जीवनका लागि शुभकामना व्यक्त गरेका छन् ।