Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


गाउँमा खुलेका सहकारी संस्थाले गाउँमै बनाए बिऊ बैंक


0
Shares

तेह्रथुम । तेह्रथुमका ग्रामीण वस्तीमा खुलेका सहकारी संस्थाले रैथाने तथा उन्नत जातका अन्न, तरकारी र मसला बालीको बिऊ जोगाउन बिऊ बैंक स्थापना गरेका छन् ।

स्थानीयस्तरमा राम्रो उत्पादन हुने विऊको पहिचान गरी त्यस्ता उन्नत जातका विऊमा किसानको पहुँच वृद्धि गरी उत्पादकत्व वृद्धि गराउन सहकारीले बिऊ बैंक स्थापना गरेका हुन् ।

गतवर्षदेखि फेदाप गाउँपालिकाको ओयाक्जुङस्थित जनकल्याण बहुउद्देश्यीय सहकारी, मेन्छ्यायेम गाउँपालिकाको पौठाक सहकारी र छथर गाउँपालिकाको ओख्रेस्थित संस्थाले विऊ बैंक स्थापना गरेका छन् ।

ओख्रेमा रहेको कल्याणकारी महिला सहकारीले पनि बिऊ बैंक स्थापना गरेको छ । किसानले ती बिऊ बैंकबाट २५ भन्दा बढी जातका बिऊ सुपथ मुल्यमा पाएका छन् ।

ती सहकारीले ३० हजारदेखि ५० हजार रुपैयाँसम्म बिऊ पुँजी कोष खडा गरी बिऊ बैंक सञ्चालन गरेका हुन् ।

बिऊ बैंकमा स्थानीय रैथाने तथा उन्नत जातका धनियाँ, फिलुङगे, रायोको साग, तोरी, बकुल्ला, सिलाम, सिमी, कोदो, मकै, धान, फर्सी, दाल, मास, थाङ्ग्रे सिमी, लसुन, प्याज, काउली, आलु, बेसार, फापर, कांक्रो, करेला, गोलभेडा लगायतका तरकारी, मसला र खाद्यान्न वालीको विऊ संरक्षण गरी सिजनमा किसानलाई उपलब्ध गराउने गरिएको छ ।

Skip This