
राम केसी (रासस)
चौतारा, असोज २९ । मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७.३ किमि बाँकी छ ।
सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुनसके अबको ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
सिन्धु, ग्यालथुम र अम्बाथानसहित तीन पहुँचमार्गनजिक काम पुगेकाले दैनिक कामको गतिमा तीव्रता आएको छ । गत हप्ता दैनिक २०० देखि २९४ मिटरसम्म ढलान भएको थियो ।
ठेकेदार कम्पनीको आन्तरिक कमजोरीका कारण काममा ढिलाइ भएकामा समस्या समाधान भइसकेकाले अबका दिनमा दैनिक सरदर २५० मिटरसम्म ढलान गर्न ठेकेदार कम्पनी सहमत भएको छ ।
दसैं र तिहारजस्ता चाडपर्वमा काम रोकिने हुँदा एक महिनाभन्दा बढी समय लाग्ने बताइएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, अम्बाथान मुहानको बाँध बाँध्ने काम वर्षात्मा खोलामा पानी बढेकाले स्थायीरुपमा बनाउन नसकी बाँकी रहे पनि अस्थायीरुपमा अर्कै बाटोबाट स्टिलको पाइप जडान भइसकेकाले सुरुङभित्र पानी हालेमा कुनै बाधा नपर्ने सूचना अधिकारी पन्तले बताए ।
उनकाअनुसार सुरुङभित्र तीन ठाउँमा भ्यान्टिलेसन जडान गर्नुपर्ने हुँदा सबै उपकरण आइसकेकाले अब सो काम पनि चाँडै हुनेछ ।
हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमि सुरुङको काम गत चैत २७ गते भएको थियो ।
चैत २९ गते उपराष्ट्रपति र खानेपानी तथा सहरी विकासमन्त्रीले आयोजनाको मुहानस्थलमा औपचारिक कार्यक्रमसहित सम्पन्न भएको घोषणा गरेका थिए ।
नेपाल सरकारले इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्टिक डी रेभेना (सीएमसी)सँग सुरुङ निर्माणको ठेक्का सन् २०१३ मा सम्झौता गरेको थियो । निर्धारित् समयभित्र काम सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप गरिएको थियो ।
पछिल्लो समय पनि खानेपानी मन्त्रालयले ठेकेदार कम्पनीको मागअनुसार थप रकम भुक्तानी गरी दसैंअगाडि मेलम्ची पानी सुन्दरीजलमा झार्ने शर्तमा गत असारमा तीन महिनाको म्याद थप गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्