Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


सुनको वितरण पारदर्शी नहुँदा कालोबजारी बढ्यो, के भन्छन् व्यवसायी ? (भिडियो)


0
Shares

-सुसन सर्जन रामदाम र रक्षा बज्र्राचार्य(ईमेज)

काठमाडौं । राष्ट्र वैंकको अनुगमन अभाव र सुनको वितरण पादरदर्शी नहुँदा सुनचाँदी बजारमा कालोबजारी बढेको छ ।

साना व्यावसायीले समेत तोलामा दुई हजारसम्म बढी हालेर सुन किन्नुपर्ने बाध्यता भएपछि उपभोक्ता समेत मर्कामा परेका छन् ।

सुनको चरम अभाव भएपछि सुनचाँदी बजारमा कालोबजारी फस्टाएको छ ।

गहना बनाउने उपभोक्ताले तोकिएको दर रेट भन्दा बढी मूल्यमा सुनका गहना किन्नुपर्ने बाध्यता भएको छ ।

काँचो सुन नै नपाउने भएपछि पसलले समेत ग्राहकको अर्डर फिर्ता गर्नुपरेको छ भने मुस्किलले पाए पनि उपभोक्ताले वढी मूल्य तिर्नुपर्ने अवस्था रहेको छ ।

सिजनमा माग वढी भएको र सरकारले दिदै आएको दैनिक २५ केजी सुनको कोटाले नधान्ने हुँदा बजार मूल्य भन्दा वढीमा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य स्विकार गर्छन् ।

राष्ट्र वैंकले असोज १८ गते सुनचाँदीको नयाँ कार्यविधि जारी गर्दै सुनको कोटामा ५ केजी थप गरेर दैनिक २५ केजी पुराएको छ ।

विगतमा बागमतीमा ६० प्रतिशत र मोफसलमा ४० प्रतिशत सुनको वितरण गरिदै आएकोमा अहिले ५०/५० प्रतिशतको दरमा वितरण गर्ने गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको सिफारिसमा वाणिज्य बैंक मार्फत सुन लिन पाउने व्यवस्था रहेको छ ।

महासंघहरुले पछिल्लो समयमा वढेका सुन पसल र प्यान नम्बरलाई आधार बनाएर सुन वितरण प्रणालीमा सुधार ल्याउनुपर्ने नेपाल सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष तेजरत्न शाक्यको भनाई छ ।

राष्ट्र वैंकले २०७४ मा २७ अर्वको सुन आयात गरकोमा ०७५ मा वढेर ३२ अर्वको पुगेको छ ।

सुन विरतरण पारदर्शी नभएको सम्बन्धमा आप्mनो ध्यानाकर्षण भएको राष्ट्र वैंकले जनाएको छ ।

समस्याको सम्बन्धमा वाणिज्य मन्त्रालय मार्फत जानकारी भएमा राष्ट्र बैंकले अनुगमन गरेर कारवाहीको दायरामा ल्याउन सकिने राष्ट्र वैंक विनिमय विभागका कार्यकारी निर्देशक भिष्मप्रसाद ढुंगाना बताउँछन् ।

सुनचाँदीको स्पष्ट निर्देशिका नहुँदा सुनको कालोबजारी र तस्करीले प्रशय पाइरहेको हो । यसलाई रोक्न राज्यले तत्काल पहल कदमी लिन जरुरी देखिन्छ ।