Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


बजेट र योजना नहुँदा पाल्पाका सरकारी कर्मचारी कामविहीन


0
Shares

पाल्पा । बजेट र योजना नहुँदा पाल्पाका सरकारी कर्मचारी कामविहीन भएका छन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन सिँचाइ र जिल्ला प्राविधिक कार्यालय कुन तहको सरकारअन्तर्गत रहने भन्ने टुंगो नलाग्दा पाल्पाका कृषि, पशु सेवा तथा स्वास्थ्य चौकीका सयौं कर्मचारी वेवारिसे जस्तै बनेका छन् ।

कर्मचारीले ठाडो हाजिरी गर्दै कार्यालयमा समय बिताउँदै आएका छन् ।

यस्तै प्रदेश सरकारअन्तर्गत सञ्चालन भएको कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयमा कार्यालय सञ्चालनका लागि रकम नहुँदा समस्या भएको छ ।

कार्यालयका लागि चाहिने समानसमेत व्यक्तिगत जमानीमा उधारोमा ल्याउनुपर्ने बाध्यता रहेको कर्मचारीहरु बताउँछन् ।

पशु चिकित्सक डा. चन्द्रबहादुर रानाले गत साउनदेखि तलव पनि नपाएको बताए ।

दसैंमा समेत तलव पाउन नसक्ने अवस्था देखिँदा कर्मचारीमा नकारात्मक असर परेको उनले बताए ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दधिलाल कँडेलले प्रदेश सरकारले चाँडो नियम, कानुन, कार्यविधी तथा निर्देशिका बनाएर पारित गर्नुपर्नेमा जोड दिए ।