सर्लाही/उदयपुर । विवादास्पद निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले जिम्मा लिएका सर्लाही र उदयपुरका अधिकांश आयोजना अलपत्र अवस्थामा पुगेका छन् ।
सर्लाहीमा एउटा सडक र एउटा पुल निर्माणको जिम्मा लिएको कन्स्ट्रक्सनले म्याद थप गरेरसमेत काम सम्पन्न गर्न सकेको छैन ।
हरिवन–कौडेना सडक कालोपत्रे गर्न पप्पु कन्स्ट्रक्सनले २०७५ जेठ ६ मा काम सक्ने गरी २०७३ बैशाख २२ मा निर्माण सुरु गरेको थियो । ३० किलोमिटर सडकमा ९ किलोमिटर मात्र कालोपत्रे भएको छ ।
बाँकी २१ किलोमिटरमा बेश बनाउने काम भइरहेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । समयमा काम सम्पन्न नभएपछि ६ महिनाको समय थपिएको छ ।
थपिएको समय सकिन ४ महिना बाँकी छँदा ६५ प्रतिशत मात्र काम सकिएको कार्यालयका प्रमुख ललित न्यौपानेले जानकारी दिए ।
समयमा काम सम्पन्न हुन नसक्दा सर्वसाधारण हिउँदमा धुलो र बर्षामा हिलोले सास्ती खेप्न बाध्य छन् ।
यस्तै ईश्वरपुरदेखि जब्दीको बीचमा पर्ने फुलजोर नदीको पुल पप्पु/शिवशंकर जेभीले २०७६ साउन १९ मा काम सक्ने गरी ०७३ चैत २१ मा निर्माण सुरु गर्ने सम्झौता भएको थियो ।
१२ करोड २५ लाख लागतको काम ठेक्काको म्याद सकिन ११ महिना मात्र बाँकी रहँदा बल्ल काम सुरु गरेको छ ।
यता, पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उदयपुरको एक पक्की पुल निर्माणाधीन अवस्थामै अलपत्र परेको छ ।
बेलका नगरपालिका– ३ सातपत्रे स्थित गिदेरी खोलाको पुल २०७१ सालदेखि अलपत्र अवस्थामा रहेको छ ।
म्रत संजिवनीसँगको जोईन्ट भेन्चरमा काम गर्ने गरी जिम्मा पाएको गिदेरी खोला पुल साढे चार वर्षदेखि अलपत्र परेको हो ।
२ सय १९ मिटर लामो ६ स्पाम साढे ७ मिटर चौडाई रहेको निर्माणाधीन पक्की पुल यतिका समय वित्दासमेत २० प्रतिशत पनि काम हुन सकेको छैन ।
बर्षायाममा आउने बाढीका कारण पुल नबन्दा सेवाग्राहीहरु मर्कामा पर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्