Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गरिन्छ : श्रममन्त्री


0
Shares

काठमाडौं, असोज २२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताएका छन् ।

सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा स्वरमा तयार गरिएको सामाजिक चेतनामूलक गीत ‘फर्क दाइ फर्क…’ को सोमबार लोकार्पण गर्दै उनले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने–‘सरकार स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन प्रयत्नशील छ । तत्कालका लागि वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो, व्यवस्थित र कम जोखिमपूर्ण बनाइनेछ ।’

नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्नु र विदेशिएका युवा जनशक्तिलाई स्वदेश फर्काउनु चुनौतीपूर्ण भएको बताउँदै उनले नेपालको श्रम, सीप, जोश र जाँगर नेपालकै विकासमा लगाइनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल विकासको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै उनले पूर्वाधार, आर्थिक, सामाजिक विकासमार्फत् ‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भूगोल र भावनामा विभक्त भएको दुईओटा नेपाललाई एकापसमा जोड्न गीत, संगीत महत्वपूर्ण माध्यम भएको बताए ।

रोजगारीका लागि विदेशिएका युवालाई स्वदेश फर्काउनु चुनौतीपूर्ण रहेको स्वीकार्दै उनले जहाँ रहेपनि मातृभूमिको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने बताए ।

उनले नेपाली कांग्रेस नेतृत्वको सरकारका पालामा रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्यका लागि स्पस्ट योजना बनाउन नसकिएको स्वीकार गरे ।

सो अवसरमा वरिष्ठ सर्जक नारायण रायमाझीले सरकार तथा राजनीतिक दलले विदेशिएका युवालाई स्वदेश फर्कन आह्वान गर्न नसकिरहेको सन्दर्भमा यस गीतले मातृभूमिको समृद्धिका लागि सम्पूर्ण युवालाई नेपाल फर्कन आह्वान गरेको बताए । रासस