Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


क्वालालम्पुरस्थित नेपाली दूतावासले भन्यो–‘अनधिकृत कारोबार नगर्नोस्’


26
Shares

काठमाडौं, असोज २० । क्वालालम्पुरस्थित नेपाली दूतावासले अवैधानिकरुपमा मलेसियामा बसोबास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना बढेको भन्दै अवैधानिक व्यक्तिसँग अनधिकृत कारोबार नगर्न अनुरोध गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल फिर्ता पठाउने अनुमति कसैलाई पनि नदिएको प्रस्ट पारेको छ ।

नाल्बू–१, ताप्लेजुङ घर भइ हाल मलेसिया बस्ने फुपु तेम्बा शेर्पाले अवैधानिकरुपमा बसोबास गर्दै आएका नेपाली कामदारलाई नेपाल फिर्ता पठाइदिने भन्दै ठगी गर्दै आएको दूतावासले जनाएको छ ।

दूतावासले निज शेर्पाविरुद्ध नेपाल तथा मलेसियाका सम्बन्धित निकायमा आवश्यक अनुसन्धान र कारबाहीका लागि पत्राचारसमेत गरेको छ ।

अनधिकृत लेनदेनका कारण ठगीलगायत अन्य अपराधमा परी उजुरी गर्नुपर्ने भएमा मलेसियाको प्रहरी र अदालत तथा नेपाल प्रहरी र अदालतमा पीडित आफैंले उजुरी गर्नसक्ने दूतावासले जनाएको छ ।

दूतावासले प्रवेशाज्ञाको म्याद सकिएर वा अन्य कारणले अवैधानिकरुपमा बसोबास गरिरहेका नेपालीलाई वैधानिक बाटोबाट तत्काल नेपाल फर्कनसमेत आग्रह गरेको छ ।

वैधानिकरुपमा नेपाल फर्कन मलेसिया सरकारले बेलाबेलामा घोषणा गर्ने आममाफीको कार्यक्रमबाट फाइदा लिन सकिने दोहोर्‍याउँदै दूतावासले तत्कालका लागि आममाफीको व्यवस्था नभएको सन्दर्भमा मलेसियाको अध्यागमन कार्यालयमा तोकिएको दन्ड, जरिवाना तिरी वैधानिकरुपमा नेपाल फर्कनसक्ने जनाएको छ ।

दूतावासले नेपालबाट जुन कम्पनीमा काम गर्न भनी आफैंले सम्झौतापत्रमा हस्ताक्षर गरी आएको हो, सो कम्पनीको सम्झौता अवधि नसकी आफूखुसी नभाग्नसमेत अपिल गरेको छ ।

रोजगारदाताप्रति कुनै गुनासो भए दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ । रासस

Skip This