Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार


0
Shares

काठमाडौं, असोज १८ । लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला बिहीबार एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ ।

निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ बिहीबार निर्माण भएको लिवर्टी इनर्जीका अध्यक्ष तथा लगानीकर्ता कुशकुमार जोशीले जानकारी दिए ।

अध्यक्ष जोशी र प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेले बिहीबार संयुक्तरुपमा ‘स्वीच अन’ गरी अन्तिम ‘ब्रेक थ्रु’ गरे ।

दोर्दीखोलामा निर्माणाधीन कुल २५ मेगावाट क्षमताको सो आयोजनाको दुई हजार ६२३ मिटर लामो सुरुङ तयार भएको हो ।

अध्यक्ष जोशीले लक्षित समयभित्रै विद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दै दोर्दीखोलामा उत्पादित जलविद्युत् खेर नजाने बताए ।

वन क्षेत्रको जग्गा प्रयोगलगायतका समस्याका कारण दोर्दी करिडोरमा निर्माणाधीन प्रसारणलाइनमा समस्या रहँदै आएको छ ।

गन्डकी प्रदेश सदस्य धनञ्जय दवाडीले लमजुङ जलविद्युत्मा लगानीमैत्री जिल्ला भएको भन्दै ढुक्कसँग लगानी गर्न आग्रह गरे ।

उनले निर्माणाधीन आयोजनालाई समन्वय गरी चाँडोभन्दा चाँडो सम्पन्न गर्न आग्रह गरे ।

आयोजनामा बाँधस्थलदेखि दुई हजार ६२३ मिटर सुरुङ र दुई हजार ८५४ मिटर लामो ‘पेनस्टक पाइप’ निर्माण गरिएको छ ।

आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा ९ ओटा बैंकले ऋण लगानी गरेका छन् । आयोजनामा बैंकको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको स्वलगानी छ ।

आयोजनाको कुल भौतिक प्रगति ८० प्रतिशत भएको छ । आगामी पाँच महिनाभित्र बाँकी रहेको २० प्रतिशत कार्य सम्पन्न गर्ने प्रवद्र्धकले जनाएको छ ।

दोर्दी गाउँपालिका वडा नम्बर–६ मा निर्माण गरिएको सो आयोजनामा १२.५ मेगावाट क्षमताका दुईओटा ‘पेल्टन टर्वाइन’ रहनेछन् ।

आयोजनाको कुल लागत करिब रु चार अर्ब छ । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको छ ।

वि.सं. २०७१ फागुनदेखि निर्माण सुरु गरिएको आयोजनामा भूकम्प र नेपाल–भारत सीमामा भएको अवरोधका कारण प्रभावित भएको थियो ।

सो कम्पनीका सन्चालक राजेन्द्र बस्तीले आयोजनाको भौतिक प्रगति प्रभावकारी रहेको जानकारी दिँदै ‘हाइड्रो हव’कारुपमा परिचित दोर्दी करिडोरमा आयोजना निर्माणले गति लिएको दाबी गरे ।

सो आयोजनाबाट उत्पादित विद्युत् काठमाडौंको कीर्तिपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने सबस्टेसनमा जोडिनेछ ।

सो करिडोरमा करिब २०० मेगावाट क्षमताका आयोजना निर्माणकाक्रममा छन् । रासस