Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


पाथीभरा मन्दिर जाने सडकको अवस्था जीर्ण


0
Shares

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने दर्शनार्थीको संख्या बढ्दै गए पनि सडकको अवस्था जीर्ण भएकाले समस्या भएको छ ।

सुकेटार–काफ्लेपाटी खण्डको ९ किलोमिटर सडकको अवस्था नाजुक हुँदा तीर्थयात्रीलाई सास्ती हुने गरेको छ । घाम नलाग्ने लेकाली क्षेत्र भएकाले यो खण्डको सडक प्रायः हिलाम्मे हुने गरेको छ ।

वर्षेनी तीर्थयात्रीको संख्या बढ्दै गएको छ भने यो वर्षको पाथीभराको दर्शन गर्ने मुख्य सिजन सुरु हुन लागेको छ ।

विशेष गरी दसैँको नौरथामा पाथीभरा मन्दिरमा भक्तजनको घुँईचो लाग्ने गरेको छ ।

मुख्य सिजनमा एकै दिन हजारौँ भक्तजन पुग्ने गरे पनि बाटोको अवस्था राम्रो नहुँदा तीर्थयात्रीले सास्ती बेहोर्दै आएका छन् ।

सुकेटारदेखि दुई किलोमिटर कालोपत्रे गर्न र बाँकी भागको स्तरोन्नतिका लागि दुई वर्षअघि ठेक्का लगाइए पनि अहिलेसम्म काम भएको छैन ।

काम सकिएपछि पाउनुपर्ने किस्ताबन्दीको रकम नपाएका कारण काम गर्न नसकेको ठेकेदार कम्पनीको दाबी छ ।

यता असोज लागेदेखि नै सडक सुधारका लागि ट्याक्टरसहित १२ जना कामदार लगाएर सोलिङ गर्ने, हिलो माटो काट्ने काम भइरहेको पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिका उपाध्यक्ष नारायण थापाले बताएका छन् ।