Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणमा आउँदै


78
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको चर्चा भइरहेका बेला भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आउनुहुने भएको छ।

परराष्ट्र मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपाल आउन लागेको जानकारी दिएको हो। भ्रमणका क्रममा दुई देशबीचको लामो समयदेखिको सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका प्रमुख क्षेत्रहरूको समीक्षा गरिने मन्त्रालयले जनाएको छ।

नेपाल बसाइका क्रममा भारतीय विदेश सचिव मिश्रीले आफ्ना नेपाली समकक्षी राईसँग द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयमा छलफल गर्नुहुनेछ। साथै, नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे पनि समीक्षा हुने बताइएको छ।

दुईदिने भ्रमणका क्रममा मिश्रीले नेपालका उच्च सरकारी अधिकारी तथा राजनीतिक दलका नेताहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ। बिहीबार स्वदेश फर्कनुअघि उहाँले प्रधानमन्त्री शाहसँग पनि शिष्टाचार भेट गर्ने अपेक्षा गरिएको छ।

यसअघि प्रधानमन्त्री शाहले मङ्सिरको दोस्रो साता भारत भ्रमण गर्ने चर्चा चले पनि भ्रमणको औपचारिक मिति भने सार्वजनिक भएको छैन।

Skip This