Logo १६ कार्तिक २०८३, सोमबार | Mon, Nov 2, 2026


रुकुम पश्चिमको सानीभेरीमा डबल क्याप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते


143
Shares

रुकुम (पश्चिम)। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलामा डबल क्याप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

साेमबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत खारखोला सडक खण्डमा दुर्घटना भएको हो। दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ३ का २७ वर्षीय काशीराम विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलका अनुसार खलंगाबाट सिम्ली आउँदै गरेको लु.प्र.०१–००१ ज ६४० नम्बरको डबल क्याप गाडी र विपरीत दिशाबाट जाँदै गरेको रा.४ प १५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक सानीभेरी गाउँपालिका–३ निवासी २७ वर्षीय गोविन्द विक घाइते भएका छन्। उनको दुवै खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २७ वर्षीय काशीराम विक गम्भीर घाइते भएका थिए।

उनको दुवै खुट्टा र टाउकोमा चोट लागेको थियो। थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घाइते मोटरसाइकल चालक गोविन्द विकलाई थप उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको छ। प्रहरीले दुवै सवारीसाधन र डबल क्याप चालक महेश भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Skip This