शुभकला राई,ओखलढुंगा ।
घुमफिरका लागि नयाँ गन्तव्य खोज्दै हुनुन्छ भने ओखलढुंगाको सुनकोशी गाउँपालिका ९ को ककनी गाउँमा रहेको तीनछाँगे झरना तपाइँको रोजाइमा पर्नसक्छ ।
यहाँ एउटै खोलामा ५ सय मिटरको दुरीमै निकै अग्ला तीनवटा झरना रहेका छन् । ककनी खोलामा रहेका झरना भौगोलिक विकटताका बीच निकै सुन्दर र आकर्षक समेत रहेका छन् ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका ९ को ककनी गाउँहुँदै बहने ककनी खोला कपल्टी भीरमा पुगेपछि झरनामा परिणत भएको छ । त्यही खोला ५ सय मिटरको दूरीमा तीनवटा झरनामा बदलिएको छ । पहिलो झरना गाउँ नजिकै छ । पर्यटकीय पूर्वाधार निर्माण भएका कारण गाउँबाट १० मिनेटकै दूरीमा यो झरनामा पुग्न सकिन्छ ।
दोस्रो झरना पहिलो झरना नजिकै रहे पनि भौगोलिक विकटताका कारण घुमाउरो बाटो भएर जानुपर्छ । करिब २० मिनेट ओरालो हिँडेपछि दोस्रो झरना पुगिन्छ । यो झरना ककनी खोलाको सबैभन्दा अग्लो झरना रहेको स्थानीय बताउँछन् । यही खोलामा रहेको तेस्रो झरना पहाडको खोँचभित्र छ ।
यो झरनामा सहजै पुग्न सकिँदैन । जानका लागि बाटो पनि छैन । ड्रोन क्यामेराले आकाशबाट हेर्दा पहिलो र दोस्रो झरनाभन्दा तेस्रो झरना अझ सुन्दर र आकर्षक छ । विभिन्न किंवदन्ती बोकेको बिछट्टै सुन्दर ककनीको तीनछाँगे झरना अर्थात तीनवटै झरना दुर्गमताकै कारण ओझेलमा छ ।










प्रतिक्रिया दिनुहोस्