Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


काठमाडौं महानगरमा आजदेखि बाइक एम्बुलेन्स सेवा


65
Shares

काठमाडाैं ।

काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ । शुक्रवार काठमाडौं महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रश्तुतीकरण कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यस्तो जानकारी दिनुभएको हो ।

उहाँकाअनुसार १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्स समेत पठाइने छ । उहाँले ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा शुरु गरिएको हो ।

कार्यवाहक प्रमुख डंगालले काठमाडौंमा एम्बुलेन्सको संख्या पर्याप्त भएपनि समयमै सेवा उपलब्ध गराउन चुनौती रहेको बताउनु भयो । ट्राफिक जाम र भौगोलिक अवस्थाका कारण कतिपय स्थानमा एम्बुलेन्स पुग्न ढिलाइ हुने गरेको उल्लेख गर्दै उहाँले उक्त समस्याको समाधानका लागि बाइक एम्बुलेन्स सेवा शुरु गरिएको बताउनुभयो ।

उहाँले चारपाङ्ग्रे एम्बुलेन्स पुग्न नसक्ने चोक तथा साँघुरा गल्लीमा बिरामीलाई तत्काल प्राथमिक सेवा उपलब्ध गराउन बाइक एम्बुलेन्स परिचालन गरिने बताउनु भयो । उहाँका अनुसार बाइक एम्बुलेन्सलाई आपत्कालीन अवस्थामा पहिलो प्रतिक्रिया दिने सेवाका रूपमा सञ्चालन गरिनेछ ।

उहाँले भन्नुभयो, ‘आजदेखि हामीले बाइक एम्बुलेन्स सर्भिस शुरु गर्दैछौँ । जब विरामी तथा सेवाग्राहीले १०२ नम्बरमा फोन गर्नुहुन्छ त्यसपछि आवश्यकताअनुसार बाइक एम्बुलेन्स समेत पठाउँछौँ । काठमाडौंमा एम्बुलेन्सको संख्या नम्बरमा कम भएको होइन । तथ्यांक हेर्ने हो भने हामीसँग पर्याप्त मात्रामा एम्बुलेन्स रहेका छन् । तर समस्या के हो भने हामीले समयमा सेवा उपलब्ध गराउन सकिरहेका छैनौँ । हामीसँग संख्या कम भएको नभई समयमा पुग्न नसकेको कुरा धेरै रिसर्चहरु पनि देखाएको छ । र हाम्रो अन द फिल्ड एक्सपेरियन्स पनि त्यही नै हो । धेरै जाम भइरहेको हुनाले समयमै चारपांग्रे गाडी पुग्न सकिरहेको हुँदैन ।  ट्राफिक जामको कारणले समयमा नै एम्बुलेसन्स पुग्न नसक्ने धेरै केसहरु रहेका छन् । त्यतिमात्रै नभएर काठमाडौंको भूगोल पनि फरक रहेको छ । अनि गल्ली गल्लीमा एम्बुलेन्स पुग्न नसक्ने अवस्था रहेको छ । त्यसकारण जुन जुन चोक तथा गल्लीहरुमा चारपाङ्ग्रे एम्बुलेन्स पुग्न सक्दैन । त्यहाँ  फस्ट रिस्पोन्सको लागि  बाइक एम्बुलेन्स पठाउनेछौँ ।’

महानगरपालिकाले स्वास्थ्य संस्थाको आवश्यकता र उपलब्ध तथ्यांकका आधारमा पूर्वाधार, उपकरण तथा प्रत्यक्ष स्वास्थ्य सेवामा सहयोग र सहकार्य गर्दै आएको उहाँको भनाइ छ ।