काठमाडाैं ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन निर्माणको तरिका बदल्नुपर्नेमा जोड दिँदै आफूलाई पार्टीका नियमित प्रशासनिक कामबाट अलग राख्ने घोषणा गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वीपी कोईराला र गणेशमान सिंहको पालाका मुद्दाले आजको समाजको प्रतिनिधित्व गर्न नसक्ने भन्दै अबको काँग्रेस समसामयिक प्रश्नहरूको हल खोज्न तल्लीन हुनुपर्ने बताउनुभएको हो ।
थापाले आजको नेपाली समाजका चुनौतीहरूलाई सम्बोधन गर्न ‘समुन्नति’ को अवधारणा अघि सार्नुभयो । रिल्सको पछि मात्र कुदेर नहुने भन्दै उहाँले बन्द कोठामा छलफल र चिन्तन आवश्यक रहेको बताउनु भयो । पर्यावरण, आर्थिक विकास, सुशासन र प्रजातान्त्रिक अधिकारलाई सँगसँगै लैजान समुन्नतिको ध्येय राख्नुपर्ने बताउनु भयो । उहाँले नागरिकका आकांक्षा पूरा गर्नसक्ने पार्टीका रूपमा काँग्रेसलाई स्थापित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो ।
आफूलाई पार्टीका नियमित कामहरूबाट अलग राखेर वरिष्ठ उपसभापति र महामन्त्रीहरूले पार्टीको दैनिकी हेर्ने व्यवस्था गर्ने योजना रहेको बताउनु भयो । आफू देशभर घुम्ने र नागरिकका कुरा सुन्न हिँड्ने उहाँको भनाइ छ । उहाँले कुनैपनि नेता वा कार्यकर्ताको निजी जीवनका गतिविधि र आचरणका लागि पार्टीलाई जिम्मेवार बनाउन नहुने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ नेपाली काँग्रेसले आजको समाजका आवश्यकता, जनताका प्रश्न र समसामयिक मुद्दाहरूलाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ। सामाजिक सञ्जालमा मात्र केन्द्रित नभई छलफल, बहस र चिन्तनमार्फत समस्याको समाधान खोज्नुपर्छ । विगतका नेताहरूको योगदानबाट प्रेरणा लिँदै वर्तमान पुस्ताका चुनौतीको उत्तर आफैँले खोज्न आवश्यक छ । आज नेपाली समाजमा रोजगारी, वैदेशिक पलायन, सुशासन, आर्थिक विकास, सामाजिक विभेद र वातावरण संरक्षणजस्ता चुनौती छन् । लोकतन्त्र र नागरिक अधिकारको रक्षा गर्दै विकास, समृद्धि र सुशासन हासिल गर्ने लक्ष्य नै ‘समुन्नति’ हो। कांग्रेसले यी आकाङ्क्षालाई सम्बोधन गर्ने विश्वास जनतामा जगाउनुपर्छ ।
यसका लागि मलाई पार्टीका नियमित कामभन्दा बाहिर रहेर देशभरिका नेता, कार्यकर्ता र नागरिकसँग भेटघाट गर्ने, उनीहरूका कुरा सुन्ने र समस्याको समाधान खोज्ने अवसर दिनुपर्छ । हामीले सङ्गठन सञ्चालन, काम गर्ने शैली र सोच्ने तरिका परिवर्तन गर्न आवश्यक छ । नेपाली काँग्रेस कुनै व्यक्ति विशेषको निजी सम्पती होइन, यो लाखौँ नागरिकको साझा संस्था हो । पार्टीका सबै सदस्यको व्यक्तिगत आचरण र आर्थिक पारदर्शिताको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्छ । कसैको व्यक्तिगत कमजोरीको दोष पार्टीले बोक्नु हुँदैन, न त त्यस्ता कार्यको बचाउ नै गर्नुपर्छ ।
पार्टी नेतृत्वको समर्थन भनेको व्यक्तिका गलत कार्यको बचाउ गर्नु होइन, उसले पार्टी र जनताका लागि गर्ने सही कामलाई बलियो बनाउनु हो । यही मान्यताका आधारमा पार्टीभित्र सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै विकृति हटाउनुपर्छ र नेपाली कांग्रेसलाई अझ स्वच्छ, जिम्मेवार तथा जनउत्तरदायी पार्टीका रूपमा विकास गर्नुपर्छ ।’
सभापति थापाले सञ्चारमाध्यमहरूलाई पनि आग्रह गर्दै कुनै व्यक्तिको व्यक्तिगत कमजोरी जोडेर सिंगो पार्टीलाई नै दोषी नठहराउन अनुरोध गर्नुभयो । थापाले पार्टीलाई थप सुदृढ र सफा बनाउन सानो स्तरबाटै सुधारको प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया दिनुहोस्