Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बूढीगण्डकीमा आकस्मिक बाढी, आरुघाटसम्म जोखिम


1k
Shares

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएपछि तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढीले गोरखाको आरुघाटसम्म क्षति पुर्‍याउन सक्ने जोखिम रहेकाले नदी आसपासका बासिन्दालाई सुरक्षित रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत हुँदै आरुघाटसम्मका बस्ती बाढीको जोखिममा पर्न सक्छन् । सम्भावित जोखिमलाई ध्यानमा राख्दै ती क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।

यसैबीच, मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि नदी तटीय क्षेत्रका बासिन्दालाई मोबाइल सन्देश (एसएमएस) मार्फत सचेत गराएको छ । बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्न सक्ने अनुमानसहित त्यहाँसम्मका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

चुमनुब्री गाउँपालिका–६ को चुम्चेत क्षेत्रबाट स्थानीय खोला हुँदै आएको बाढी बूढीगण्डकी नदीमा मिसिएको प्रारम्भिक जानकारी छ । तर, बाढी आउनुको वास्तविक कारण भने खुल्न सकेको छैन ।

माथिल्लो क्षेत्रमा वर्षा भएको अभिलेख नरहेकाले कतै पहिरो खसेर नदीको बहाव रोकिएको र पछि अवरोध खुल्दा एक्कासि बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बाढीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई नदीको बहाव नजिक नजान र जोखिम देखिए सुरक्षित उच्च स्थानमा जान आग्रह गरिएको छ ।