Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी छः मुकुल ढकाल


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले वर्तमान सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी रहेको टिप्पणी गर्नुभएको छ ।

ललितपुरको पुल्चोकमा सोमवार आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै ढकालले जेन्जी आन्दोलनबाट स्थापित शक्ति नभई अर्कै शक्तिले अहिले सरकार सञ्चालन गरिरहेको दाबी गर्नुभएको हो । उहाँले जेन–जी आन्दोलनले स्थापित राजनीतिक शक्तिलाई झकझकाउने र सुधार्ने उद्देश्य राखेको भए पनि आन्दोलन नियन्त्रणमा लिएर अर्कै शक्तिले पुराना राजनीतिक दल र नेताहरूलाई पूर्णरूपमा विस्थापित गरेको बताउनुभयो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध व्यक्तिहरूमा समेत राजनीतिक अनुभवको कमी रहेको आफूले देखेको बताउनुभयो । अचानक आएको जिम्मेवारीका कारण वर्तमान सरकारमा अनुभवको कमी देखिएको उहाँको भनाइ छ । तर फागुन २१ गतेको निर्वाचनपछि ठूलो जनमतबाट सरकारलाई अनुमोदन गरिसकेकाले त्यस जनमतको अवमूल्यन गर्न नहुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जेन–जी आन्दोलन जुन भदौ २३ मा भयो, त्यसमा जसले आन्दोलन गर्‍यो, त्यो आन्दोलन गरेको शक्ति आज सत्तामा छैन । यो छुट्टै शक्ति आएर स्थापित भएको हो । फागुन २१ को चुनावमा जनताले अब देश बन्छ, अब देश बनाउनुपर्छ भन्ने आधारमा भोट दिएका हुन् ।’

उहाँले निर्वाचनमा जनताले देश निर्माणको अपेक्षासहित मतदान गरेको उल्लेख गर्दै अहिले सरकारको नेतृत्व गरिरहेको समूहमा रहेको अनुभवको कमीलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सरकारले मुलुक र नागरिकको पक्षमा काम गर्ने दिशामा अघि बढ्नुपर्ने बताउनुभयो ।