Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


धनगढीमा जन्मदिन मनाउँदै गर्दा चट्याङ लागेर ७ जना घाइते


0
Shares

विराज रोस्यारा, धनगढी । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लाग्दा सात जना घाइते भएका छन्। मंगलबार राति घरको छतमा जन्मदिन मनाइरहेका बेला उनीहरू चट्याङको झिल्काबाट घाइते भएका हुन्।

प्रहरीका अनुसार स्थानीय खुशिलाल चौधरीको घरको छतमा राति करिब साढे ९ बजे जन्मदिन मनाउने क्रममा घरनजिकै चट्याङ परेको थियो। त्यसको प्रभावले छतमा रहेका सात जनालाई चोट लागेको हो।

घाइते हुनेमा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बागमती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन्।

घटनालगत्तै उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य तथा खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

चट्याङको घटनापछि स्थानीयवासी त्रसित भएका छन्। पछिल्ला दिनमा सुदूरपश्चिमका विभिन्न स्थानमा चट्याङसहित वर्षाजन्य घटना बढेकाले प्रहरीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।