Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बांगाबीच भेटवार्ता


0
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व बैंक समूहका अध्यक्ष अजय बांगासँग अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ।

विश्व बैंक अध्यक्ष बांगाको निमन्त्रणामा अमेरिका पुग्नुभएका अर्थमन्त्री वाग्लेले भेटका क्रममा नेपालमा हाल देखिएका आर्थिक तथा पूर्वाधारसम्बन्धी चुनौती र आगामी सहकार्यका विषयमा छलफल गर्नुभएको हो।

भेटमा रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक संरचना तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे छलफल भएको छ। त्यसैगरी, बृहत् आर्थिक सुधार, बिमा तथा सामाजिक संरक्षणका क्षेत्रमा करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ।

नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष बांगाले पुनर्निर्माणका लागि विश्व बैंकले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले नयाँ सरकारले अघि सारेका नीतिगत तथा संस्थागत सुधार सकारात्मक रहेको उल्लेख गर्दै पूर्वाधार क्षेत्रमा थप लगानी भित्र्याउन र देशभित्र रोजगारीका अवसर विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो।

नेपालका प्राथमिकताका क्षेत्रमा लगानी बढाउन विश्व बैंकले एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग सहकार्य गर्ने जनाएको छ। त्यसका लागि संयुक्त लगानीका नयाँ अवसर पहिचान गर्ने जानकारी पनि अध्यक्ष बांगाले दिनुभएको छ।

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार पछिल्लो तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।