काठमाडौं ।
गोकर्ण नगरपालिका–४ स्थित उत्तर गया धामबाट २८ वर्षअघि चोरी भएको दुर्लभ लिच्छविकालीन काली भैरवको मूर्ति खोजी गर्न स्थानीय जनप्रतिनिधि पहल थालेका छन्।
इमेज च्यानलबाट हरेक मंगलबार प्रसारण हुँदै आएको ‘लुकेको इतिहास : सत्यको खोजी’ कार्यक्रमको टोलीलाई मूर्ति खोजीका लागि आवश्यक पहल गर्न स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले आग्रह गरेका छन्।
मूर्ति खोजीका क्रममा कार्यक्रमका प्रस्तोता यादवलाल कायस्थसहितको टोली उत्तर गया धाम पुगेको थियो। टोली त्यहाँ पुग्ने जानकारी पाएपछि गोकर्ण नगरपालिकाका मेयर, उपमेयर, वडा नम्बर ४ का अध्यक्ष तथा सदस्य, स्थानीय बासिन्दा र सम्पदाप्रेमीको उल्लेख्य उपस्थिति रहेको थियो।
सो अवसरमा प्रस्तोता कायस्थले मूर्ति चोरीसम्बन्धी विषयमा सम्बन्धित निकाय तथा सरोकारवालासँग छलफल र सोधपुछ गरी सकेसम्म छिटो मूर्ति फिर्ता ल्याउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
इमेज च्यानलको टोली मूर्ति खोजीमा जुटेपछि स्थानीयवासी तथा सम्पदाप्रेमीले २८ वर्षअघि चोरी भएको ऐतिहासिक मूर्ति पुनः प्राप्त हुने आशा व्यक्त गरेका छन्।









प्रतिक्रिया दिनुहोस्