काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले राजनीति र लोकतन्त्रको सार्थकता जनताको जीवनस्तर सुधार र राष्ट्रको प्रतिष्ठासँग जोडिएको बताउनुभएको छ ।
काठमाडौंको खुलामञ्चमा आईतवारबाट शुरु भएको पार्टीको १५ औँ महाधिवेशनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले लोकतन्त्रका नाममा प्राप्त अवसरभन्दा जनताका समस्याको समाधान मुख्य भएको जिकिर गर्नुभएको हो ।
महामन्त्री घिमिरेले लामो समयसम्म विभिन्न राजनीतिक दलहरूले देशको नेतृत्व गरे पनि जनतामा रहेको निराशा चिर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले नेपाली काँग्रेसका संस्थापक वीपी कोईरालाको सपनालाई स्मरण गर्दै, देशलाई समुन्नत र नेपाली जनतालाई सुखी बनाउनु नै पार्टीको मुख्य अभीष्ट हुनुपर्नेमा जोड दिनुभयो ।
महामन्त्री घिमिरेले देशका प्रमुख राजनीतिक दलहरूका शीर्ष नेताहरूलाई साक्षी राख्दै राजनीतिको केन्द्रमा राष्ट्र र जनतालाई राखेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिको सार्थकता केही महत्वपूर्ण कुरामा निहित हुन्छ । राजनीतिको सार्थकता भनेको जनताको समुन्नत जीवन, राष्ट्रको सुरक्षा, राष्ट्रको प्रतिष्ठा र छिमेकी मित्रराष्ट्रहरूसँगको सुमधुर सम्बन्ध हो । यिनै कुराले राजनीतिलाई सार्थक बनाउँछन् । लोकतन्त्रको सार्थकता भनेको जनताको सहभागिता, जनताको सम्मान र जनताको समुन्नति हो। लोकतन्त्रको सार्थकता सामूहिक भावनामा आधारित राष्ट्रियता हो । अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्नु नै वास्तवमा लोकतन्त्रको सार हो । आज लोकतन्त्र सही बाटोमा हिँडिरहेको छ कि छैन ? आज राजनीति सार्थक भइरहेको छ कि छैन ? यस्ता प्रश्नहरू सर्वत्र उठिरहेका छन् । यी प्रश्न हामीमाथि उठिरहेका छन् । हामी सबैमाथि उठिरहेका छन् । यो मञ्चमा उपस्थित हामी सबैमाथि प्रश्न छ । यी प्रश्नको समुचित जवाफ खोज्ने दायित्व पनि हामी सबैको हो । यदि हामीले यी प्रश्नको समुचित जवाफ खोज्न सक्यौँ भने लोकतन्त्र पनि सार्थक हुन्छ, राजनीति पनि सार्थक हुन्छ र राजनीतिको अभीष्ट पनि पूरा हुन्छ ।’
घिमिरेले पार्टीको यो महाधिवेशनले नेतृत्वमा पुस्तान्तरणको प्रक्रियालाई सार्थकता दिने विश्वास व्यक्त गर्नुभयो । शहीदहरूको बलिदानी र आन्दोलनका उपलब्धिहरूलाई जोगाउँदै आम नागरिकको भावनाअनुसार पार्टीलाई अगाडि बढाउनुपर्ने चुनौती रहेको उहाँको भनाइ छ । लोकतन्त्रको सार भनेको पंक्तिमा उभिएको अन्तिम नागरिकको जीवन बदल्नु हो भन्दै उहाँले उपस्थित प्रतिनिधिहरूलाई नयाँ संकल्पका साथ अघि बढ्न आह्वान गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्