Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाडीको नयाँ दर्ता खुला

विद्युतीय सार्वजनिक यात्रुवाहक गाडीलाई प्राथमिकता दिने

624
Shares

काठमाडाैं। यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाडीको नयाँ दर्ता बिहीबारदेखि खुला गरेको छ ।

विभागले यहि भदौ ३० गते सात वटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्दै काठमाडाैं उपत्यकाभित्रको रुट तथा सार्वजनिक गाडी व्यवस्थापनका लागि निश्चित सीमा तोकेर दर्ता खुला गरेको हो। विभागले सार्वजनिक गाडीको दर्ता खुला गर्ने सम्बन्धी सूचना बुधबार सार्वजनिक गरेको छ।

नयाँ व्यवस्था अनुसार काठमाडाैं उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक गाडीको दर्ता खुला हुने भएकाे हाे। नयाँ दर्ता गर्दा विद्युतीय सार्वजनिक यात्रुवाहक गाडीहरुलाई प्राथमिकता दिने विभागले जनाएको छ।

तर, उपत्यकाभित्र भने सबै प्रकारका नयाँ सार्वजनिक गाडीको दर्ता खुला गरिएको छैन । विभागले उपत्यकाभित्र विद्यालयका बस तथा सट्टाभर्नाको हकमा मात्र सार्वजनिक गाडीको दर्ता खुला गरिएको जनाएकाे हो ।

यसअघि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको समस्या तथा ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै गत जेठ ८ गतेदेखि नयाँ दर्ता अर्को सूचना नभएसम्मका लागि रोक्का गरेको थियो ।