Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


परासीमा रहेका शवका कारण दुर्गन्ध फैलिन थाल्याे

स्वास्थ्य सावधानी अपनाउन पृथ्वी चन्द्र अस्पतालकाे आग्रह

169
Shares

नवलपरासी। नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वी चन्द्र अस्पतालमा राखिएका शवका कारण दुर्घन्ध फैलिन थालेपछि स्वास्थ्य सावधानी गरिएको छ।

रसुवा बाढीमा परी नारायणी नदी (गण्डक क्षेत्र) मा फेला परेका सबै शवहरु परासीमा व्यवस्थापन हुन नसकेपछि भीम अस्पताल भैरहवा, प्रादेशिक अस्पताल बुटवल र पिपरा अस्पताल कपिलवस्तुमा पठाइएको हाे । विभिन्न अस्पतालमा पठाइएका सबै शवहरुको सुनवल नगरपालिका–७ स्थित मूलपानी सामुदायिक वनको अलकत्रा डाँडामा व्यवस्थापन भइरहेको छ।

नारायणी नदीमा दैनिक जसो शव फेला पर्ने क्रम जारी रहेको र व्यवस्थापनमा समय लागेको सुरक्षा निकायले जनाएको हाे । जसका कारण थपिएका शवले दुर्गन्ध फैलिन थालेको छ। दुर्गन्ध फैलिन नदिनका लागि सबै प्रयास भइरहेको अस्पताल र सुरक्षा निकायले जनाएका हुन् ।

तीन जना फरेन्सी चिकित्सकहरुले डीएनए परीक्षण गरिरहेको र शव व्यवस्थापन छिटो गर्नका लागि थप दुई जना चिकित्सकहरुलाई बाहिरबाट बोलाइएको पृथ्वीचन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बृज यादवले बताउनुभएकाे छ । मंगलबार बिहानसम्म अस्पतालको पोष्टमार्टम गृहमा ४१ वटा शव रहेका छन् । भेटिने क्रम जारी रहेकाले यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । आमंगलबार बिहानसम्म १ सय ६९ शव भेटिएकोमा ६८ शवको व्यवस्थापन भइसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी मदन थापाले बताउनुभयाे।

यसैबीच शवका कारण दुर्गन्ध फैलिन सक्ने भन्दै अस्पतालले सूचना निकालेर स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । विपद्को यस दुःखद घडीमा मानवीय संवेदनशील कायम गर्दै सम्भावित सरुवा रोग फैलिन नदिन स्वास्थ्य सावधानी अपनाउन बजारवासीलाई अस्पतालले सूचना निकालेर आग्रह गरेको हो। सम्भावित रोगबाट बच्न मास्कको प्रयोग गर्ने, पानी उमालेर वा सुरक्षित प्रशोधित पानी पिउने, शवगृह तथा प्रभावित क्षेत्रको आसपास अनावश्यक भीडभाड नगर्न समेत आग्रह गरिएको छ।

त्यसैगरी सबै बजारबासीमा संयमित भई शव व्यवस्थापनमा सहयोग गर्न पनि सूचनामार्फत आग्रह गरिएको हाे ।