ओखलढुंगा । ओखलढुंगाका भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीमा परी २१ जना अझै सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले एक जना भने सकुशल सम्पर्कमा आएकाे जनाएकाे हाे। प्रहरीको जानकारी अनुसार जिल्लाको चम्पादेवी गाउँपालिका-२ नवलपुरका २३ वर्षीय अबिश्वर सुनुवार परिवारको सम्पर्कमा आउनुभएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज रसुवा आसपास मेसिन चलाउने काम गर्दै आएनुभएका उहाँ सकुशल रहेको प्रहरीले जनाएको हाे । बाढीका कारण ओखलढुङ्गाका अन्य २१ जना अझै सम्पर्कविहीन रहेका छन् ।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेहरूमा खिजीदेम्बा गाउँपालिकाका ८ जना रहेका छन् । जसमा खिजीदेम्बा-५ चुप्लुभन्ज्याङका ५२ वर्षीय ट्रेकिङ गाइड सोनाम टासी शेर्पा, खिजीदेम्बा-५ जर्बुटेका ४० वर्षीय ट्रेकिङ गाइड संगम श्रेष्ठ, खिजीदेम्बा-६ साल्मेका ३६ वर्षीय ट्रेकिङ गाइड देवराज सुनुवार, खिजीदेम्बा-९ लट्टेबारीका ३२ वर्षीय ट्रेकिङ गाइड गेली शेर्पा, खिजीदेम्बा-९ की ३६ वर्षीया छोटी शेर्पा, खिजीदेम्बा-८ भुस्पातेकी ३२ वर्षीया माया शेर्पा, खिजीदेम्बा-६ माइती भई विवाह गरी रसुवा टिमुरे गएकी ३५ वर्षीया कांडी शेर्पा र खिजीदेम्बा-२ का ४५ वर्षीय ट्रेकिङ गाइड लप्साङ शेर्पा रहेका हुन् ।
त्यसैगरी चिसङ्खुगढी गाउँपालिकाका चार जना सम्पर्कविहीन रहेका छन् । जसमा चिसङ्खुगढी-५ का २६ वर्षीय कन्टेनर ट्रक लिई रसुवा भन्सार गएका खेमबहादुर रावत, सोही वडाकी टिमुरेस्थित सानिमा बैङ्कमा कार्यरत २८ वर्षीया सुभद्रा न्यौपाने, चिसङ्खुगढी-६ भदौरेका ३२ वर्षीय पर्यटक गाडी चालक सबिन मगर भनेर चिनिने मेचनकुमार मगर र चिशंखुगढी-३ बाट काठमाडौँ बसाइँ सरी गएका विकास भट्टराई रहेका छन् । त्यस्तै, लिखु गाउँपालिकाका तीन जना सम्पर्कविहीन रहेका हुन् ।
जसमा लिखु-७ बेडारीटोलका ४२ वर्षीय पर्यटक बस चालक मिलन बेडारी, लिखु-२ कुवापानीका ४२ वर्षीय त्रिशूली हाइड्रोपावरमा काम गर्ने खिलबहादुर बुढाथोकी र लिखु-७ खत्रीटोलका ४८ वर्षीय पर्यटक बस चालक रमेश खत्री भनिने प्रेम पौडेल रहेका छन् । सिद्धिचरण नगरपालिकाका दुई जना सम्पर्कविहीन भएका छन् ।
सिद्धिचरण-७ बिगुटारका ३० वर्षीय काठमाडौँको कैलाश ट्रेकिङबाट रसुवा गएका पेमजाङ्बु शेर्पा र सिद्धिचरण-१ का ५६ वर्षीय ट्रेकिङ गाइड कुलबहादुर थापामगर सम्पर्कविहीन रहेका हुन् । मोलुङ गाउँपालिका-२ का दुई जना टुरिस्ट पुर्याुउन गएका २१ वर्षीय सुमन दाहाल र त्रिशूली हाइड्रोपावरमा काम गर्ने २८ वर्षीय मोनि दाहाल पनि सम्पर्कविहीन रहेका छन् ।
त्यस्तै, प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक शेखरकुमार साहले मानेभञ्ज्याङ गाउँपालिका-१ का ३० वर्षीय मजदूरी काम गर्ने दिनेश राई र चम्पादेवी गाउँपालिका-६ बाट बारा बसाइँ सरी गएका चक्रबहादुर खड्का पनि बाढीपछि सम्पर्कविहीन रहेको बताउनुभयाे।









प्रतिक्रिया दिनुहोस्