Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


भोटेकोशी बाढी : गण्डकीका एक सय सम्पर्क विहिन, गोर्खाका ५१ र कास्कीका १६ जना सम्पर्कविहिन


0
Shares

विजय नेपाली, पाेखरा । रसुवामा आएको बाढीकामा परी गण्डकी प्रदेशका एक सय जना सम्पर्क विहिन भएका छन् । बुधरबार रसुवाको भोटेकोशीमा आएको बाढी पछि रसुवा घुम्न गएका र कामका शिलशिलमा पुगेकाहरु अहिलेसम्म सम्पर्क

विहिन भएका हुन् ।

गण्डकीका ११ मध्ये ८ जिल्लामा अहिलेसम्म कुल एक सय जना सम्पर्कविहिन भएको निवेदन परेको हो । जसमा सबैभन्दा बढी गोरखा जिल्लाका रहेका छन् । गोरखा जिल्लाका ५१ जना सम्पर्कमा नआएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।

‘यो प्रारम्भिक सूचि हो । यो बढ्न पनि सक्छ । अहिलेसम्म आफन्तले सम्पर्कमा नआएको भन्नु भएको छ’ उनले भने ।
यस्तै कास्कीका १६ जना सम्पर्क विहिन भएका छन् । रसुवामा सम्पर्कविहिन हुने सबैजसो पोखराभित्रका रहेका छन् । पोखरा महानगरपालिका १७ का सविना पौडेल, १५ का छमप्रकाश थापा, मनु बुढा, पोखरा ५ की सृष्टि बास्तोला, पोखरा ६ का अभिषेकश आचार्य रहेका छन् ।

यस्तै धनगढीमाई गाउँपालिका सिराहाका आनन्द कुमार महतो र सिन्धुलीका प्रविन पुर्जा समेत सम्पर्क विहिन भएको भनि कास्कीमा आएका छन् । यस्तै पोखरा १२ का लिला बहादुर थापा र सुमन श्रेष्ठ, पोखरा १५ का देवि कुमारी गुरुङ, पोखरा १३ का विनु गुरुङ, पोखरा १४ का गोविन्द बहादुर अधिकारी रहेका छन् । यस्तै काठमाडौं स्थाइ ठेगाना भएका राजेश शर्मा र प्रमिला पाठकसहित २ सन्तान समेत सम्पर्क विहिन भएका छन् ।

सहायक जिल्ला अधिकारी एवम् सूचना अधिकारी चित्राङ्गत बरालले विहानसम्म चार जनामात्रै आफन्त सम्पर्कमा नआएपनि साँझसम्म १६ जना पुगेको र यो बढ्न सक्ने अनुमान गरिएको छ । उनका अनुसार पोखराबाट घुम्न जाने र केही कामको शिलशिलामा त्यहाँ पुगेका थिए । अहिले गोरखा, चितवन, तनहुँ र नवलपुर पूर्वतर्फ भेटिएका शवहरु समेत पोखरा ल्याइएको छ ।

‘अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रसुवा बाढीमा परि मृत्यु भएका शवहरु ल्याइएको छ । ति शव यहाँ पहिचान गर्ने र आफन्तलाई बुझाउने भन्ने छ’ उनले भने, ‘२९ वटा शव आइसकेका छन् अझै आउनेक्रममा छन् ।’ यस्तै पर्वतका शिव लम्साल पनि सम्पर्कविहिन भएका छन् । फलेवासका उनी स्याप्रुवेसीको एक बैंकका प्रबन्धक रहेका थिए ।

तनहुँका ३ जना सम्पर्क विहिन भएका छन् । बागलुङका ११, म्याग्दीका २, लम्जुङका १० र स्याङजाका ६ जना सम्पर्क विहिन भएका छन् । नवलपुरबाट समेत थुप्रै सम्पर्क विहिन भएको अनुमान गरिएको छ । यद्यपि त्यहाँको संख्या भने अहिले खुल्न सकेको छैन् । मनाङ र मुस्ताङका समेत अहिले सम्म सम्पर्क विहिन भएको भेटिएकाे छैन् ।