Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


उद्धार र राहतमा जुट्न कार्यकर्तालाई ओलीकाे निर्देशन


0
Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरेको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार च्यासलस्थित केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालयको आकस्मिक बैठकले सो माग गरेको हो । चीनको स्वशासित क्षेत्र तिब्बत (सिजाङ) तर्फबाट बुधवार बिहान आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाका विभिन्न बस्तीहरूमा ठूलो विनाश निम्त्याएको छ । बाढीका कारण रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, मैलुङ, बेत्रावती र त्रिशुली लगायतका क्षेत्र प्रभावित भएका छन् । 

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यकाअनुसार बाढीका कारण ठूलो सङ्ख्यामा महिला, बालबालिका, पर्यटक, सुरक्षाकर्मी तथा कर्मचारीहरू सम्पर्कविहीन भएका छन् । बाढीले टिमुरे बजारसहितका बस्तीमा सयौँ घर, पसल, भन्सार कार्यालय, प्रहरी चौकी, दूरसञ्चार टावर, सडक, पुल, जलविद्युत आयोजना र कृषि क्षेत्रमा व्यापक क्षति पु¥याएको छ । 

बैठकले नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको स्मरण गराउँदै बेपत्ताहरूको खोजी, जोखिममा रहेकाहरूको स्थानान्तरण र घाइतेहरूको तत्काल निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । यस्तै, मानवीय र भौतिक क्षतिको विवरण संकलन गरी तत्काल र दीर्घकालीन राहत प्याकेज घोषणा गर्न पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । 

एमालेले भोटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रका नागरिकहरूलाई उच्च शतर्कता अपनाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ । यस विषम परिस्थितिमा संघ, प्रदेश र स्थानीय सरकारका साथै राजनीतिक दल, नागरिक समाज र सामाजिक संघ–संस्थाहरूलाई एकीकृत रूपमा सहकार्य र समन्वय गर्न एमालेले अपिल गरेको छ ।

नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, जनसङ्गठनका सदस्य र जनप्रतिनिधिहरूलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहत कार्यमा सक्रिय हुन विशेष निर्देशन दिइएको आचार्यले बताउनु भयो । सरकारले कुनैपनि बहानामा ढिलासुस्ती नगरी उद्धार र राहत सामग्री वितरणमा तदारुकता देखाउनुपर्नेमा एमालेले जोड दिएको छ ।