काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलहरुसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
आइतवार राजधानी काठमाडौंमा आयोजित कार्यशालालाई सम्बोधन गर्दै उहाँले अब ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागी अगामी ३५ वर्षको कार्ययोजना ल्याउन निर्देशन दिनुभयो । विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भएपनि अब त्यस्तो अवस्था रास्वपासँग नरहेको बताउनुभयो ।
रास्वपाका सभापति रवि लामिछानेले आफूलाई किस्तीमा आएको प्रधानमन्त्री पद विगतमा हाँसी हाँसी अस्वीकार गरिदिएको दाबी पनि गर्नुभयो । अघिल्लो प्रतिनिधिसभामा २१ सिटे दलको नेता हुँदा आफ्नो मात्रै हस्ताक्षर बाँकी राखेर प्रधानमन्त्री बन्ने प्रस्ताव आएको र प्रधानमन्त्री बन्न चाहेको भए गाह्रो भन्नुभयो ।
उहाँले अहिले सरकार मात्रै बलियो नभई प्रतिपक्षीहरु झनै बलियो रहेको बताउनुभयो । स्थानीय तहहरु सवै प्रतिपक्षीको हातमा रहेकाले स्थानीय तहलाई राजनीतिक तवरमा ब्यवहार गर्न नसकिए त्यसले अर्कैतिर पुर्याउन सक्ने चेतावनी पनि दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्