Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


सहकारी संस्था समुदायको सारथी


0
Shares

युवराज गौतम/ईमेज
–वि.स. २०५२ सालमा झापाको बिर्तामोड–२ चारपानेमा केही सामाजिक अगुवाहरुले सहकारी खोल्ने योजना बनाए । शिक्षकसमेत रहेका ताराप्रसाद संजेल(हाल दिवंगत)लगायतको अगुवाइमा सहारा नेपाल नामको सहकारी दर्ता भयो । यही सहारा बचत तथा ऋण सहकारी संस्था(साकोस) राज्यलाई कर तिर्ने सर्वाधिक ठूलो सहकारी संस्था पनि बन्न पुग्यो ।

आर्थिक बर्ष २०७४/०७५ मा मात्र यस संस्थाले ८ करोड १४ लाख २५ हजार ९ सय ९४ रुपैंयाँ कर मात्र बुझाएन प्रदेश नम्बर एकको उत्कृष्ट साकोस बनेर स्थापित भएको छ । शेयर सदस्य मात्र १ लाख ३५ हजार नाघिसकेको छ ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरी संस्थाको सफलताको पछाडी संस्थाको लक्ष्य र नीति मुख्य कारण ठान्छन् । ‘इमान्दार संचालक, आर्थिक पारदर्शीता, सक्षम र क्षमतावान कर्मचारी, टिमवर्क र उत्कृष्ट व्यवस्थापनले हामीलाई यहाँ पुर्‍याएको हो’, उनले भने ।

–इलामको सूर्योदय नगरपालिका–११ मा २०६३ सालमा स्थापना भएको जनहित कृषि सहकारी संस्था पश्चिम नेपालका सहकारीका सदस्यहरुको भ्रमणको गन्तब्य स्थल बनिरहेको छ । चिया र दुग्धजन्य पदार्थ उत्पादनबाट समृद्धि हासिल गरेको जनहितको यतिबेला १ करोड २५ लाख रुपैंयाँ पूँजी खडा गर्न सफल भएको छ ।

अध्यक्ष गोपाल भट्टराई भन्छन्, हाम्रो सहकारीले उत्पादन गरेको ललिपप, बम्बैसन, पनिर लगायतका परिकार स्थानिय उपभोक्त र पर्यटकका लागि रोजाइमा छ,’ उनले भने, ‘१४ जनाले गाउँमै रोजगारी पनि पाएका छन् ।’ सरकारको नीति तथा तेस्रो खम्बाका रुपमा सहकारीलाई लिएका कारण पनि धेरै काम गर्न सहज भएको उनको बुझाइ छ । ‘राजश्व, भन्सारलगायतमा दिएको छुटले पनि हामीलाई काम गर्न सहज भएको छ,’ अध्यक्ष भट्टराईले भने ।

–सहकारीले सामान्य नागरिक मात्र होइन फरक क्षमता भएका व्यक्तिहरुको जीवनयापनको सारथी बनिरहेको भन्ने उदाहरण बाजुराको एक सहकारीबाट स्पष्ट हुन्छ । बाजुरा बुढीगंगामा स्थापना भएका प्रगतिशील बहुउदेश्यीय सहकारी अशक्त, एकल महिला र कुष्टरोगीहरुका लागि साँच्चै उदाहरण बनेको छ ।

किनकी बुढीगंगा–९, बारबिसकी एकल महिला बिस्ना लुहारकै जीवनमा आएको परिवर्तनबाट प्रष्ट हुन्छ । डेरामा बस्दाबस्दै प्रगतिशील बहुउदेश्यीय सहकारीको सदस्य बनेर ऋण लिएर उनले गाउँमा व्यापार गरेर समाजमा उदाहरणको पात्र बनिन् । व्यापारबाटै उनले घडेरी किनिन् र घर बनाइन ।

त्यस्तै बुढीगंगा नगरपालिका–४, केल्देमाडौंका बिष्णुभक्त रेग्मी अपाङ्ग हुन । अहिले उनीलगायतका गाउँका सबै अपाङ्ग, एकल महिला र कुष्ठरोगी मिलेर गाउँमा कुल्देमाडौं बहुउद्देश्यीय सहकारी खोले र उनीहरु आफूलाई अप्ठ्यारो परेको बेला त्यही सहकारीबाट ऋण लिएर गर्जो टारिरहेका छन् ।

रेग्मी भन्छिन् ‘हाम्रो साहाराको सारथी कोही नभएपछि सहकारी बनाएका छौं, घरमा केही सारोगारो परेका बेला कसैलाई भन्नु परेन । सहकारीबाट ऋण लिने गरेका छौं ।’ समाजमा हेला गरिएका र अछुतको व्यबहार भोग्न बाध्य पारिएकाहरु समेत अहिले सहकारीको सहायताबाट आफ्नो काम गर्न थालेका छन् ।

कुल्देमाडौं बहुउद्देश्यीय सहकारीमा दुईजना कुष्ठरोगी, प्रगतिशीलमा दुई जना र बडिमालिका बहुउद्देश्यीय सहकारी संस्थामा चार जना कुष्ठरोगीहरु समेत सदस्य बनेर आफ्नो व्यवसाय गरिरहेका छन् ।

स्थानीय तहमै सहकारी दर्ता गर्ने अधिकार पाएपछि अशक्तहरुलाई पनि सहकारी दर्ता गर्न सजिलो भएको हो । अशक्त र असायहरुले आफैँ सहकारी खोलेर व्यवसाय समेत गरेको देख्दा आफूलाई खुशी लागेको बुढीनन्दा नगरपालिकाकी उप–मेयर तारा खातीले बताइन ।

अवसर र सहयोग पाएमा अशक्त र असहायले समेत केही गर्न सक्छन् भन्ने कुराको एक असल उदाहरणको रुपमा बाजुराका यी चार नयाँ सहकारी रहेका छन् । सहरकारीमा काम गर्नेहरुको पनि दैनिकी फेरिएको छ ।

माथिका उदाहरणहरु सहकारीका सामान्य नमुना मात्र हुन । सहकारीमार्फत आर्थिक सँगसँगै सामाजिक परिवर्तनमा पनि सहयोगी बनिरहेको छ भन्ने माथिका उदाहरण काफी छन् ।

किनकी सहकारीहरु साझा हितका लागि सामूहिक व्यवसाय गर्ने माध्यम मात्र नभइ व्यक्तिगत जीवनलाई नै अकल्पनीय परिवर्तन ल्याउन सक्ने सारथी बन्दै गएका छन् । देश संघीय ढाँचामा गइसकेपछि स्थानीय तहमा सहकारीको प्रभावकारिता र सफलता देखिन थालेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा सचिबको अनुभव संगालिसकेका गोपीनाथ मैनाली सहकारीमार्फत समावेशी विकास, महिला सशक्तीकरण, युवा स्वरोजगार, व्यवसायिक क्षमता विकास, गरिबी निवारण, सामाजिक सुरक्षा, कृषि क्षेत्रमा शसक्तीकरण र बचत तथा ऋणमार्फत वित्तिय सेवाको पहुँच विस्तार भएको बताउँछन् ।

उनको विचारमा सहकारीमार्फत सामूहिकता, एकताको भावना विकास र जीवन धान्न आवश्यक आधारभूत आवश्यक्ताहरुको पूर्ति गर्न सहज हुने भएपछि सहकारीहरु सफल अभियानतर्फ उन्मुख भएको औंल्याउँछन् ।

सहकारी संस्थाहरुमा आकर्षण र सफलताको पछाडी भेदभावरहित गतिविधि प्रमुख भएको बचत तथा ऋण सहकारी संघ इलामका अध्यक्ष लिला थापा बताउँछन् ।

उनी भन्छन्, ‘सबैभन्दा कमजोर बर्गलाई निर्णायक तहमा ल्याउने, नेतृत्वको विकास गराउने, व्यवसाय गर्न सानो पूँजी, सीप र संगठनमार्फत सामाजिक रुपमा अघि ल्याउने काम सहकारीले मात्र गरिरहेकाले यसका सफलताहरु प्रशस्त देखिएका हुन’, उनी थप्छन्, ‘कमजोरलाई बलियो बनाउने माध्यम नै सहकारी हो, त्यसैले यसमा आकर्षण बढेको हो ।’

समावेशी भन्नु नै सहकारी

सहकारीहरुमा सबै तहका मानिसहरुको आकर्षण हुनु भनेको सवाबेशी भावना र समावेशी अभ्यास प्रमुख भएको अभियन्ताहरु बताउँछन् । कसैलाई काखा र कसैलाई पाखा नभइ समावेशी सिद्धान्तका आधारमा सहकारीहरु संचालन हुनु नै गौरवको विषय भएको अभियन्ताहरु बताउने गर्छन ।

जात, बर्ग, लिंग, भूगोल, राजनीति र धर्मका आधारमा विभेद नगर्ने अभ्यास नै सहकारीको संस्कार भएको परियोजना व्यवस्थापनमा सक्रिय किशोर रिजालको बुझाइ छ ।

‘नेपालमा संचालित ठूला दातृ निकायहरु पनि सहकारीमार्फत नै ठूलो लगानी गर्न इच्छुक रहनुको कारण नै सहकारीहरु समावेशी बन्नु हो,’रिजालले भने । सरकारी तथा गैरसरकारी संस्थाहरु समाजमा सचेतना फैलाउन र आफ्नो परियोजनाहरु प्रभावकारी बनाउनका लागि पनि सहकारीहरुलाई नै रोज्ने गरेको पाइन्छ ।

सामाजिक र सांस्कृतिक परिवर्तन

हिजोआज सहकारीलाई सामाजिक र सांस्कृतिक एकताको सन्देश दिने थलोको रुपमा पनि विकास गर्न थालिएको छ । किनकी सहकारी गरिबी, विपन्नता र अशिक्षा विरुद्ध लड्ने सामाजिक आन्दोलनका रुपमा लिने गरिएको छ ।

कृषि र सहकारी क्षेत्रमा कलम चलाइरहेका पत्रकार तोयानाथ भट्टराई तीन तहकै सरकारको प्राथमिकतामा परेको सहकारी क्षेत्र आर्थिक सामाजिक रुपान्तरण र गरिबी निवारणको अचुक अस्त्र भन्न रुचाउँछन् ।

सहकारी सामूहिक व्यवसाय भएकाले सामाजिक र सांस्कृतिक परिवर्तन गर्न पनि सामूहिक भावनाले काम गरेको उनी बताउँछन् । ‘सहकारी मार्फत ज्ञान, सीप र क्षमता आदनप्रदान हुने भएकाले समाजमा यसको प्रत्यक्ष प्रभाव परिहाल्छ,’भट्टराईले भने ।

शिक्षा, स्वास्थ्य, मनोरन्जन प्रदान गर्ने निकायहरु पनि सहकारीमार्फत नै अघि बढ्ने मात्र नभइ सहकारीलाई नै माध्यम बनाई आफ्नो गन्तब्यमा पुग्न ठूलो लगानी गरिरहेको नेपालमै प्रशस्त उदाहरणहरु छन् ।

आत्मनिर्भरको दरिलो माध्यम

मुलुकभर खुलेका सहकारी सामूहिक लगानी गरेर रोजगारी सिर्जना गराउने मात्र नभइ बचत तथा ऋण सहकारीमार्फत कर्जा लिएर व्यवसायमा सफल हुने नेपालीहरुको संख्या पनि उच्च छ ।

कृषि, व्यापार, पशुपालन, मौरी पालन लगायतका क्षेत्रमा लगानी गरी आत्मनिर्भर हुनेमा धेरैजसो महिला, पिछडिएका बर्ग, विपन्न र गरिब परिवारका सदस्यहरु छन् । बचत गर्ने बानीको विकासले विशेषगरी महिलाहरु अग्रसर हुने गरेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ(नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याल सहकारीको जागरणले सबै बर्ग र समुदायमा वित्तिय पहुँच पुगेकोमा गर्व गर्छन । उनी भन्छन्, ‘न्यून आय स्तर भएका मानिसहरु सहकारीको अभियानमा छन र आत्मनिर्भर हुँदै गएका छन् ।

स्थानीय श्रम, सीप, पूँजी परिचालन गर्ने माध्यम नै सहकारीहरु भएका छन् । टोल टोलमा जागरण ल्याएका छन । देशकै आर्थिक विकासमा अग्रपंक्तिमा देखिएका छन् ।’ हुन पनि ग्रामिण स्तरमा सहकारी मार्फत सामूहिक लगानी गर्ने, बचत गर्ने, ऋण लिएर व्यवसायमा सफल हुने प्रतिस्पर्धा नै चल्ने गरेको छ । साहूको ऋण भन्दा सहकारीको ऋण सहज र शुलभ हुने गरेको अनुभव ऋणीहरु सुनाउने गर्छन ।

अहिले देशभर बचत तथा ऋण सहकारीको संख्या मात्र करिब १४ हजार छ । त्यस्ता संस्थाहरुले शेयर सदस्य तथा विपन्न परिवारलाई प्रोत्साहित गरी आत्मनिर्भर बनाउन भूमिका निर्वाह गरिरहेका छन् ।

केही महिना अघिको तथ्याकं हेर्ने हो भने बचत तथा ऋण सहकारीमा निक्षेपतर्फ करिब दुई खर्ब १७ अर्ब ५० करोड रुपैयाँ छ भने ऋणतर्फ एक खर्ब ७९ अर्ब ८८ करोड रुपैयाँ परिचालन भएको देखिन्छ ।

त्यसबाहेक कृषि र बहुद्देश्यीय गरी दर्जनभन्दा बढी किसिमका सहकारीमा निक्षेपतर्फ कुल तीन खर्ब दुई अर्ब १६ करोड रुपैयाँ र ऋणतर्फ दुई खर्ब ७३ अर्ब ७१ करोड रुपैयाँ परिचालन भएको देखिन्छ । यसरी हेर्दा सहकारीमार्फत मुलुकमा ठूलो आर्थिक हिस्सा ओगटेर आमा नागरिकलाई आत्मनिर्भर गराउने अभियान दौडिरहेको विश्लेषकहरुको भनाइ छ ।