Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


पोखरामा खोलाले बगाएर ३ जना बेपत्ता, खाेजी कार्य जारी


468
Shares

काठमाडाैं । कास्कीमा अविरल वर्षासँगै खोलाकाे बहाव बढ्दा ३ जना बेपत्ता भएका छन् ।

कास्कीकाे पोखराका विभिन्न ठाउँमा खोला तर्ने क्रममा उनीहरू बेपत्ता भएका हुन् । पोखरा महानगरपालिका-२६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिक विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका छन् । पोखरा- १४ विजय बस्तीबाट खोला तरेर सक्नेरीतर्फ आउँदै गर्दा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको हाे ।

बेपत्ता हुनेमा खोटाङ घर भई हाल पोखरा-१४ चाउथेमा डेरा गरी बस्ने सुवास राईका १५ वर्षीय छोरा ओमन राई रहेकाे छन् ।त्यस्तै, स्याङ्जा घर भइ पोखराको छिनेडाँडा बस्दै आएका चन्द्रबहादुर गुरुङका १४ वर्षीय छोरा निक्सन गुरुङ पनि बेपत्ता भएका हुन् । खोजीका लागि खटिएको टोली रित्तै हात फर्किएको छ । आइतबार पनि बिहानैदेखि खोजीका लागि टोली खटिएको प्रहरीले जनाएको हाे ।

यसैबीच, शिशुवामा पनि खोला तर्ने क्रममा अर्का एक जना बेपत्ता भएका छन् । उनको पहिचान खुल्न बाँकी छ । उनको पनि खोजी भइरहेको कास्की प्रहरीले जनाएको हाे। अविरल वर्षाका कारण कास्कीका विभिन्न क्षेत्रमा पहिरो, सडक कटान र पुलमा क्षति भएका छन् । अन्नपूर्ण गाउँपालिकाको विरेठाँटी क्षेत्रमा मोदी खोलाको बाढीले बढी क्षति पुगेको प्रहरीले जनाएकाे हाे।