Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


प्रश्न पत्र लिग प्रकरण : थप दुई जनालाई पक्राउ


2.1k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा अगावै प्रश्नपत्र लिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रौतहटको राजदेवी नगरपालिका वडा नं. ४ घर भएका २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल वडा नं. १ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्।

सीआईबीका अनुसार मिश्रलाई आइतबार काठमाडौं ताहाचलबाट र हाकिमलाई सोमबार वीरगञ्जबाट पक्राउ गरिएको हो।

गत शुक्रबार सञ्चालन भएको त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय तर्फको एमबीएस प्रथम सेमेष्टरको संगठनात्मक व्यबहार विषयको परीक्षाको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहहरुमा सेयर गरी परीक्षाको गोपनियता भङ्ग गरिएको थियो। सोही कसूरमा संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि साउन १० मा प्रहरीले ३३ वर्षीय सन्दीप सिंहलाई पक्राउ गरेको थियो । आरोपीहरुले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय तर्फको एमबिएस प्रथम सेमेष्टरको प्रश्नपत्र लिक गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सिंह कैलालीको घोडाघोडी नगरपालिका–११ घर भएर भक्तपुर बस्दै आएका थिए ।

सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका व्यक्तिहरुलाई शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूरमा अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ। यसअघि पनि उक्त प्रकरणमा संलग्न अन्य व्यक्तिहरुलाई पक्राउ गरी सीआईबीले अनुसन्धान गरिरहेको छ।