Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


बागमती प्रदेशमा आजदेखि ८ वटा मात्रै मन्त्रालय कायम

कांग्रेस-एमालेबीचकाे तिक्तताले मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार संकटमा

13
Shares

काठमाडाैं । बागमती प्रदेश सरकारमा शुक्रबारदेखि ८ वटा मात्रै मन्त्रालय कायम हुने भएको छ ।

गत वैशाख २२ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै रहने व्यवस्था शुक्रबारदेखि लागू भएको हो । सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजनामन्त्री प्रभात तामाङले शुक्रबारदेखि ८ मन्त्रालय मात्रै रहने बताउनुभयाे ।

तत्कालीन मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, उद्योग, भूमि तथा प्रशासन मन्त्रालय र सामाजिक विकास मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो ।

बागमती प्रदेशमा साउन २०८१ देखि नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सञ्चालनमा रहेकाे हाे । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकार अहिले अप्ठ्यारोमा परिसकेको छ । देशका सातै प्रदेशमा कांग्रेसले एमालेसँगको सहकार्य तोड्ने निर्णय गरेकोले बागमतीमा पनि सरकार संकटमा परेको हो । बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न ५३ जना सांसदको समर्थन आवश्यक पर्छ ।

हाल प्रदेशसभामा कांग्रेसको ३६ सिट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को २६, एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट रहेकाे छ ।