लक्ष्मीप्रसाद सापकोटा, पर्वत । स्याङजा र गुल्मी जिल्लाको संगम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको छ ।
दुईदिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको सतह बढेका कारण शालिग्राम शिला डुवानमा परेको हो ।
शिलामा जाने वाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल डुविसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार कालीगण्डकीको बहाब बढेपछि शालिग्राम शिला डुवानमा परेको हो ।
यतिबेला नियमित वर्षा भएकाले कालीगण्डकी र सेतीखोलामा पानीको सतह ह्वात्तै बढेको छ । शिला डुवानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितहरु समेत विस्थापित बनेका छन् भने नियमित पुजापाठ र दर्शन गर्न आउने भक्तजनहरु समेत शालिग्राम शिला दर्शन गर्नबाट बञ्चित बनेका छन् ।
सेतीवेणीमा मिसिने सेतीखोलाको बाहब र कालीगण्डकी उच्च बहावले शिला परिक्रमा स्थल समेत पुर्ण रुपमा क्षतविक्षत बनेको स्थानीय तिलक पराजुलीले बताउनुभयो । शिला क्षेत्र डुवानमा परेपनि बस्तीमा भने कुनै खतरा नरहेको उहाँले बताउनुभयो ।
पबित्र शालिग्राम शिलासँगै शालिग्राम क्षेत्रका सत्तल लगाएतका सवै संरचना डुवानमा परेका छन् । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियन जाली समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जान रोक लगाईको छ ।
कालीगण्डएकी ए जलविद्युत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । कालीगण्डकी र सेतीखोलाको बहाब बढेसँगै सेतीबेणीबजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ५ तर्फको बजार क्षेत्रका झण्डै दुई सय ब्यापारी तथा सर्वसाधरणहरु त्रसित बन्ने गरेका छन् ।
दुई वर्ष अघि साउनमा आएको बाढी बजारसम्म पुगपछि एक घर भत्किनुका साथै आधा दर्जन घर विस्थापित बनेका थिए । कालीगण्डकी नदिलाई बहाब परिवर्तन नगरेसम्म जोखिम कायमै रहिरहने गल्याङ नगरपालिका वडा नंं ५ का अध्यक्ष घनश्याम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार गुल्मीतर्फवाट बहाव लगेर शालिग्राम शिलाको संरक्षण गर्नुपर्ने उहाँको माग रहेको छ ।
शालिग्राम शिला अवस्थित स्थानको नजिकमा रहेको स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले आवश्यक समन्वय गरेर सेतीवेणी क्षेत्रको संरक्षण गर्नुपर्ने विहादी गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले लगातारको वर्षासँगै सेतीवेणी क्षेत्र लगायत विभिन्न खोलाहरुमा बाढी पहिरोको खतरा रहेकाले आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । जोखिम जतिबेला सुकै पनि आउन सक्ने भएकाले सुरक्षाको उपाय अपनाउन आग्रह गरिएको प्रहरी निरिक्षक राजन पटेलले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्