Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


थाइल्याण्डको एक बारमा भीषण आगलागी हुँदा २७ जनाकाे मृत्यु, ६० बढी घाइते


13
Shares

काठमाडाैं । थाइल्याण्डको राजधानी बैंककको एक बार तथा रेस्टुरेन्टमा आइतबार राति भएको भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ ।

आगलागीमा परी ६० जना भन्दा बढी घाइते भएका बीबीसीले जनाएको हाे । केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतक संख्या अझै बढ्नसक्ने आशंका गरिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मध्यरातमा थाईल्याण्डको चातुचक जिल्लामा रहेको रोङ बियर ना लाट फ्राओ नामक बारमा आगलागी भएको हो ।

दमकल टोली घटनास्थलमा पुगेर झण्डै आधा घण्टामै आगो नियन्त्रणमा लिए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको जनाइएकाे छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बारको मुख्य प्रवेशद्वारबाट ठूलो आगोको मुस्लो निस्किरहेको, मानिसहरू ज्यान जोगाउन भागिरहेका तथा केही आगोले जलेको अवस्थामा बाहिर निस्किरहेको देखिन्छ ।

स्थानीय सञ्चारमाध्यमहरुले ज्यान गुमाउनेमा १८ महिला र ९ जना पुरुष रहेकाे जनाएका हुन् । थाई अधिकारीहरूले घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान शुरु गरेकाे बीबीसीले जनाएको छ।