Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


नेपालकाे सेयर बजार ६ महिनायताकै न्यून विन्दुमा

बजेट र मौद्रिक नीतिले पनि उत्साह जगाउन सकेन

13
Shares

काठमाडौं । नेपालको सेयर बजार पछिल्लो समय निरन्तर ओरालो लाग्ने क्रममा रहेकाे छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार ६ सयको विन्दुमा झरेसँगै बजार ६ महिना यताकै न्यूनस्तरमा पुगेको हो । नयाँ सरकारको गठन र नयाँ नीतिहरूको घोषणा भए पनि लगानीकर्ताहरूमा उत्साह देखिनुको सट्टा निराशा छाएको तथ्यांकले देखाउँछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सेयर बजार बढ्ने आशा गरिएको थियो । तर, बढ्न सकेन ।

गत फागुन २१ गते भएको निर्वाचन अगाडि रास्वपाले आफ्नो वाचापत्रमा समेत सेयर बजारमैत्री नीतिहरूको घोषणा गरेको थियो । तर, सरकार बनेको भोलिपल्टैदेखि सेयर बजार भने घट्न शुरु भएको थियो । बालेन्द्र सरकारले शपथ ग्रहण गर्नु भन्दा ठिक अघिल्लो दिन अर्थत् चैत १२ गते नेप्से परिसूचक २ हजार ९ सय ५० दशमलव १६ विन्दुको उच्च स्थानमा अडिएको थियो । तर, हाल नेप्से परिसूचक २ हजार ६ सयको विन्दुमा आएको छ ।

यसरी हेर्दा बालेन्द्र सरकार आएयता मात्र समग्रमा ३ सय ५० अंकले घटेको छ । यो सेयर बजारको ठूलो गिरावट हो । नेप्से परिसूचक २ हजार ६ सय विन्दुमा आएको छ । योसँगै ६ महिनायताकै न्यून विन्दुमा नेप्से आएको हो । गत पुस ९ गते २ हजार ५ सय ९७ विन्दुमा बन्द भएको थियो । त्यसयता भने यहि असार २६ गते नेप्से परिसूचक २ हजार ६ सय विन्दुमा आएको छ ।

यो ६ महिनाको अवधिमा गत चैत ११ गते नेप्से परिसूचक उच्चतम २ हजार ९ सय ७० गत पुगेको थियो । तर, त्यसयता भने बजार लगभग निरन्तर जस्तो घट्दो क्रममा नै रहेको छ ।