Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको बिदाई

भण्डारीले ‘संकटको समयमा कुशल नेतृत्व प्रदान गरेकाे आयोगकाे निष्कर्ष

52
Shares

काठमाडाैं । निर्वाचन आयोगले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको बिदाई गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगको गरिमा अभिवृद्धि गर्न खेल्नुभएको भूमिकाप्रति आभार एवं कृतज्ञता व्यक्त गर्नुभएकाे हाे। प्रवक्ता भट्टराईले उहाँलाई एक मृदुभाषी, कानूनविद् र कठिन परिस्थितिमा मार्गनिर्देशन गर्ने अभिभावकका रूपमा चित्रण गर्नुभयो । राष्ट्रलाई संकट परेका विभिन्न परीक्षाहरूमा उहाँले आफ्नो योगदानमार्फत आफूलाई एक अब्बल नेतृत्वका रूपमा स्थापित गरिसक्नुभएको उहाँको भनाइ छ ।

आयोगमा आउनुअघि नै वरिष्ठ अधिवक्ताका रूपमा स्थापित व्यक्तित्व बनाउनुभएका उहाँको कार्यक्षमतामा आयोगको अनुभवले थप निखार ल्याएको प्रवक्ता भट्टराईले बताउनुभयाे । कार्यकालका दौरान प्राप्त अनुभव र दक्षता आगामी दिनमा थप सफलताका लागि महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्दै उहाँले उहाँको सुखद्, स्वस्थ र सक्रिय भविष्यको कामना समेत गर्नुभएकाे छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले २०८२ साल भदौको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सम्हाल्नै राष्ट्रपति रामचन्द्र पौडेलबाट तोकिएको फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने कामको नेतृत्व गर्नुभएको थियो । निर्वाचन हुने वा नहुने अनिश्चितताको समयमा सही निर्णय र सही बाटोबाट राजनीतिक दल र जेनजी पुस्तालाई निर्वाचनमा सहभागी गराउने भूमिका खेल्नुभएको हाे ।