Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


‘विकास आयात गर्न सकिँदैन, नेपाली माटो अनुकूलको मोडेल आवश्यक’: नेता शाही


78
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले नेपालको विकासका लागि विदेशी मोडेलको अनुकरण गर्न नहुने बताउनुभएको छ ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता शाहीले विकास बाहिरबाट आयात गर्ने विषय नभएको बताउनुभएको हो । उहाँले नेपाली माटो र यथार्थमा आधारित मौलिक मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अन्य देशमा सफल भएको विकासको मोडेल नेपालको भौगोलिक र सामाजिक परिवेशमा हुबहु लागू हुन नसक्ने उल्लेख गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर विकासको नेपाली मार्ग निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपालको वर्तमान समस्या सम्भावनाको अभाव नभई कार्यान्वयनको कमजोरी रहेको उहाँको तर्क छ ।

उहाँले मुलुकको आर्थिक समृद्धिका लागि स्थानीय उद्योगको विकास, कृषिको आधुनिकीकरण र स्वच्छ ऊर्जाको अधिकतम उपयोग आवश्यक रहेको बताउनु भयो । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन दीर्घकालीन संरचनात्मक लगानी र पूर्वाधार निर्माणमा राज्यले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो, ‘विकास बाहिरबाट आयात गर्न सकिने विषय होइन, न त कुनै अर्को देशको विकासको मोडेललाई जस्ताको तस्तै नक्कल गरेर सफलता हासिल गर्न सकिन्छ । एउटा देशमा सफल भएको विकास मोडेल हिमालको काखमा रहेको नेपालमा हुबहु लागू हुन सक्दैन ।

नेपालको विकासको मार्ग नेपाली यथार्थ, राष्ट्रिय आवश्यकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्माण गरिनुपर्छ । आज हाम्रो सबैभन्दा ठूलो समस्या सम्भावनाको अभाव होइन, कार्यान्वयनको कमजोरी हो । नेपाल प्राकृतिक स्रोत, अपार जलस्रोत तथा विश्वका दुई ठूला अर्थतन्त्रबीच अवस्थित रणनीतिक भौगोलिक अवस्थाले सम्पन्न राष्ट्र हो । तर दुःखको विषय, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बाट हरेक दिन हजारौँ प्रतिभाशाली र ऊर्जाशील नेपाली युवाहरू आफ्नो भविष्य निर्माणका लागि विदेशतर्फ प्रस्थान गरिरहेका छन् ।

यसको प्रमुख कारण उनीहरूले आफ्नै देशमा पर्याप्त अवसर प्राप्त गर्न नसक्नु हो । आज नेपालको सबैभन्दा ठूलो निर्यात वस्तु होइन, मानव स्रोत बन्दै गएको छ । हामीले अन्तर्राष्ट्रिय बजारमा वस्तु निर्यात गर्नुपर्ने अवस्थामा आफ्ना दक्ष र सक्षम जनशक्ति नै विदेश पठाइरहेका छौँ । यही कारणले देशको दीर्घकालीन विकास र आर्थिक रूपान्तरणको गति अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । अब स्थानीय उद्योगको विकास, कृषिको आधुनिकीकरण, स्वच्छ ऊर्जाको अधिकतम उपयोग तथा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने पूर्वाधार निर्माणमा दीर्घकालीन र संरचनात्मक लगानी गर्न आवश्यक छ । नेपाल–चीन सम्बन्ध पारस्परिक सम्मान, सार्वभौमिक समानता, भौगोलिक अखण्डताको सम्मान तथा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित रहँदै आएको छ । आर्थिक रूपमा आत्मनिर्भर, शक्तिशाली र स्थिर नेपाल नै हाम्रो क्षेत्रको शान्ति, स्थायित्व र समृद्धिको सबैभन्दा बलियो आधार हो ।’

नेपाल–चीन सम्बन्धका बारेमा चर्चा गर्दै नेता शाहीले दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान, सार्वभौमिक समानता, भौगोलिक अखण्डताको सम्मान र अनाहस्तक्षेपको सिद्धान्तमा आधारित रहेको बताउनु भयो । उहाँले एक शक्तिशाली र आर्थिक रूपमा आत्मनिर्भर नेपाल नै यस क्षेत्रको शान्ति र स्थिरताको आधार भएको उल्लेख गर्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक यात्राबाट नेपालले सुशासन र विधिको शासनका सन्दर्भमा महत्वपूर्ण पाठ सिक्नुपर्ने उहाँको भनाइ थियो ।

नेपालको विद्यमान राजनीतिक प्रवृत्तिको आलोचना गर्दै उहाँले राजनीतिक नियुक्तिहरूमा अझै पनि दलीय भागबण्डा र कार्यकर्ता भर्तीको पुरानो संस्कार कायम रहेको बताउनु भयो । पात्रहरू फेरिए पनि प्रवृत्ति नफेरिएको र विधिको शासन स्थापित हुन नसकेको भन्दै उहाँले यस्तो परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।