Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा ३० बढी देशका प्रतिनिधिहरू सहभागी हुने


26
Shares

एजेन्सी । इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि समारोहमा ३० भन्दा बढी देशका प्रतिनिधि र ९० भन्दा बढी राष्ट्रका धार्मिक नेताहरू सहभागी हुने भएका छन् ।

इरानका गृह राज्यमन्त्री एवं अन्त्येष्टि व्यवस्थापन मुख्यालयका प्रमुख अली अकबर पुरजमशिदियनले आयोजित पत्रकार सम्मेलनमार्फत यस्ताे जानकारी गराउनुभएको हो । उहाँले आगामी शुक्रवार तेहरानमा विदेशी नेता, उच्च अधिकारी र धार्मिक व्यक्तित्वहरूको उपस्थितिमा दिवंगत नेताप्रति श्रद्धाञ्जली अर्पण गर्न एक विशेष समारोहकाे आयोजना गरिने बताउनुभयाे ।

अन्त्येष्टि कार्यक्रमको तालिका अनुसार यहि असार २० गते शनिबार बिहानदेखि आइतबारसम्म तेहरानस्थित इमाम खामेनी मोसल्लामा बिदाई समारोह सञ्चालन हुने भएकाे छ । सोमबार मुख्य अन्त्येष्टि जुलुस निकालिने कार्यक्रम रहेकाे हाे । जसमा इरान र अन्य क्षेत्रीय मुलुकहरूबाट ठूलो संख्यामा जनसहभागिता रहने अपेक्षा गरिएको छ ।

गृह राज्यमन्त्री पुरजमशिदियनले यहि जुलाई ७ तारिखमा इरानको मध्य शहर कोममा विशेष समारोह आयोजना गरिने बताउनुभयाे । जुलाई ८ मा धार्मिक विधिहरूका लागि खामेनीको पार्थिव शरीरलाई छिमेकी मुलुक इराक लगिने भएकाे छ । अन्त्यमा जुलाई ९ तारिखमा इरानको उत्तरपूर्वी शहर मशहदमा सर्वोच्च नेता खामेनीको अन्त्येष्टि गरिने उहाँले जानकारी गराउनुभयाे ।

गत फेब्रुअरी २८ तारिखमा तेहरानमा अमेरिका र इजरायलले गरेको हवाई आक्रमणमा परी सर्वोच्च नेता खामेनीको मृत्यु भएको थियो । उहाँको निधनपछि गत मार्च महिनामा इरानको ‘एसेम्बली अफ एक्सपट्र्स’ ले उहाँका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिसकेको छ ।