काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा मंगलबार र बुधबार भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाे जनाएकाे छ।
विभागलेदुई दिन अगाडि नै विशेष बुलेटिन जारी गर्दै भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन सचेत गराएको थियाे । मंगलबार र बुधबार मनसुनी गतिविधि बढ्नुका साथै मधेश, कोसी, बागमती, गण्डकी लुम्बिनी, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ। यी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाे हाे।
देशका पहाडी तथा हिमाली-तराईका अधिकांश स्थानमा तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने क्रममा रहेकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो। भारीदेखि धेरै भारी वर्षाको कारण भूक्षय, बाढी, पहिरोको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने विभागले बताएको छ।
दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने विभागले जनाएकाे हाे । त्यसैले आवश्यक शतर्कता तथा पूर्वतयारी अपनाउन समेत अनुरोध गरिएकाे छ।









प्रतिक्रिया दिनुहोस्