Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सरकारले वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सुकुम्बासी आन्दोलित


26
Shares

काठमाडाैं । होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको वैकल्पिक व्यवस्थापन नगरी स्थान खाली गर्न सूचना जारी गरिएको भन्दै सुकुम्बासीहरूले काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानका बस्ती विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएका नागरिकको उचित पुनःस्थापना नगरी सेन्टर छाेड्न निर्देशन दिइएको भन्दै सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा शुक्रबार प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता केदार खतिवडाले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित गरेपनि वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हट्न सूचना जारी गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले सुकुम्बासी नागरिकको उचित वैकल्पिक व्यवस्थापन नगरी लखेट्ने सरकारको कार्य स्वीकार्य नहुने चेतावनी दिनुभयो । उहाँले सुकुम्बासी, भूमिहीन र गरिब नागरिकमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरिरहेको आरोप पनि लगाउनुभएकाे छ। नेता खतिवडाले सुकुम्बासीहरूको समस्या केवल उनीहरूको मात्र नभई समग्र समाजको सरोकारको विषय भएको उल्लेख गर्नुभयाे ।

नेता खतिवडाले मध्यमवर्ग, बुद्धिजीवी, सञ्चारमाध्यम र राजनीतिक दलहरूलाई पनि यस विषयमा आवाज उठाउन आग्रह गर्नुभएकाे छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार बिहान एक सूचना जारी गर्दै १९ असारसम्म होल्डिङ सेन्टर छाेड्न समय थप गरेको हाे। गत वैशाखमा उपत्यकाभित्रका नदीकिनारका सुकुम्बासी बस्ती हटाएसँगै उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएको थियो।

प्रदर्शनकारीहरुले सरकारविरुद्धका नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन् ।