काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँच वटा समितिको बैठक मंगलबार बस्दैछ ।
सिंहदरबारस्थित समितिकाे सभा कक्षमा मंगलबार अर्थ समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक मंगलबार बिहान ९ बजे सिंहदरबारमा बस्ने भएकाे छ । बैठकमा समितिको मस्यौदा कार्यविधिमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएकाे हाे ।
त्यस्तै, पूर्वाधार विकास समितिको बैठक मंगलबार बिहान ९ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा सार्वजनिक सवारी व्यवस्थापन र ढुवानी व्यवस्थापन लगायत विषयमा छलफल हुने भएकाे हाे । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक मंगलबार बिहान १० बस्नेछ । बैठकमा ग्यालरी बैठक (पुरानो संसद) भवन निर्माणको कार्ययोजना सम्बन्धमा शहरी विकास तथा भवन निर्माण विभागसँग छलफल गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे हाे ।
त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक मंगलबार बिहान ११ बजे बस्ने भएकाे छ । बैठकमा उपसमितिको कार्यक्षेत्रमा हेरफेर गर्ने तयारी रहेकाे हाे । त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक मंगलबारै बिहान सवाँ ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धी विषयमा छलफल हुने सचिवालयले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्