Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


सौराहा आउने पर्यटकका लागि सात नयाँ गन्तव्य


0
Shares

चितवन, असोज ११ । क्षेत्रीय होटल संघ चितवन, सौराहाले यहाँ आउने पर्यटकहरुका लागि सातओटा नयाँ गन्तव्यसहितको ‘टुर प्याकेज’ घोषणा गरेको छ ।

बिहीबार सौराहामा आयोजित एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका मेयर नारायण बनले सो नयाँ टुर प्याकेजको उद्घाटन गरे ।

जिल्लाका सात नयाँ गन्तव्य छनोट गरी नयाँ टुर प्याकेज घोषणा गरिएको हो ।

नयाँ पर्यटकीय गन्तव्यमा सौराहामा नै रहेका राष्ट्रिय प्रकृति संरक्षण कोषको अखेटोपहार, थारु संग्राहलय, सौराहा प्रवेशद्धारमा रहेको चित्रसेन बाबा मन्दिर, जिरौनामा रहेको कृष्ण प्रणामी मन्दिर, भरतपुरको तीनखोले गुम्बा, देवघाट धाम र नारायणी नदी किनार रहेका छन् ।

नयाँ गन्तव्यकारुपमा छनोट गरिएका स्थानहरुमा आन्तरिक पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।

सौराहा आउने पर्यटकहरुलाई नयाँ गन्तव्यमा नयाँ स्वाद दिलाउन सात स्थानको छुट्टै टुर प्याकेज घोषणा गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

‘सुरुदेखि नै सौराहाको पर्यटन जंगल सफारीले धानेको छ’–उनले भने–‘अब नयाँ गन्तव्य आवश्यक महसुस गरी सात गन्तव्य छनोट गरेका हौं ।’

कार्यक्रममा मेयर बनले नयाँ गन्तव्य छनोटले सौराहाको पर्यटन व्यवसायमा मद्दत पुग्नेमा विश्वास व्यक्त गरे ।

आर्थिक वर्ष २०७४/७५ मा चितवनमा एक लाख ५२ हजार पर्यटक भित्रिएका थिए ।